गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरको तीन दिवसीय मंगन जिल्ला भ्रमण आज सफलतापूर्वक सम्पन्न भयो। आफ्नो भ्रमणको क्रममा राज्यपाल लाचेन जुम्साद्वारा आयोजित एक कार्यक्रममा सहभागी बने, जहॉं उनलाई पिपन र स्थानीय मानिसहरूले न्यानो स्वागत जनाए।
कार्यक्रममा उपस्थित पिपन कुञ्जाङ लाचेनपा र कासाङ लाचेनपाले राज्यपाललाई गत वर्ष आएको बाढ़का कारण उत्पन्न समस्याहरूको बारेमा अवगत गराए। उनीहरूले बाढ़का कारण स्थानीय अर्थव्यवस्था, होटल व्यवसाय, ऋण समस्या, सडक समस्या, भाइब्रेन्ट भिलेज योजना, भारतमाला परियोजना सबैलाई प्रभावित बनाएको बताए। उनीहरूले यस दिशामा सुरक्षात्मक पहलको आवश्यकतामाथि बल दिए।
राज्यपालले सबै मुद्दाहरू ध्यानपूर्वक सुनेपछि सभालाई सम्बोधित गर्दै राज्य र केन्द्र सरकारबीच एक सेतुको रूपमा काम गर्ने आश्वासन दिए। उनले यी समस्याहरूको समाधानका लागि हर सम्भव प्रयास गर्ने र प्रभावित क्षेत्रहरूमा आवश्यक सहायता प्रदान गर्न प्रयास गर्ने बताए।
राज्यपालले स्थानीय मानिसहरूको सहनशीलता र एकजुटताको सराहना गर्दै राजभवन उनीहरूको साथमा रहेको र उनीहरूका समस्याहरूलाई समाधान गर्न प्रतिबद्ध रहेको बताए। उनले लाचेन जुम्साको सामूहिक कार्यहरूको प्रशंसा गर्दै राजभवनको तर्फबाट दुई लाख रूपियॉंको राशि प्रदान गर्ने घोषणा गरे।
यस अतिरिक्त, राज्यपालले बाढका कारण पूर्ण रूपमा नष्ट भएको अंगोरा प्रजातिको खरायो फार्मको भ्रमण गरे अनि जिल्लापाललाई यसको पुनर्निर्माणको दिशामा काम गर्न निर्देश दिए। उनले सीमा सड़क संगठनको प्रशंसा गर्दै संगठनले विभिन्न चुनौतीहरूको सामना गरेर पनि जनसाधारण र सेनालाई ध्यानमा राख्दै पुल र सडकहरूको रखरखाउ एवं निर्माण गरेको बताए।
कार्यक्रममा जिल्लापाल अनन्त जैन, राजभवनका अतिरिक्त सचिव खेमराज भट्टाराई, सडक सीमा संगठनका अधिकारी, सरकारी अधिकारी, स्थानीय मानिसहरू आदि उपस्थित थिए।









