खरसाङ: आकाशवाणी खरसाङको क्षेत्रीय समाचार एकांशद्वारा खरसाङको लोकप्रिय पर्यटन स्थल “इगल्स क्रेग – दुर्बिन डाँड़ामा स्वच्छता अभियान चलाइयो। स्वच्छता अभियानका लागि आकाशवाणी समाचार सेवा प्रभागको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रका नोडल अधिकारी अनि खरसाङ एकांशका समाचार प्रमुख अशोक चौरसियाको अगुवाई अनि एकांशका डीइयो गोपाल मुखियाको संयोजकत्वमा इगल्स क्रेगभित्र अनि बाहिर सर-सफाई गरियो। यसमा समाचार विभागका सहकर्मीहरू सबिता छेत्री, दिपेन प्रधान र अजित विश्वको विशेष योगदान थियो।

यसै सर-सफाईको क्रममा खरसाङका केही भागलाई पिउने पानी आपूर्ति गर्ने सोही परिसरभित्रै रहेको ५०,००० गैलन क्षमता भएको दुवै टैंकी वरिपरि पनि सर-सफाई गरियो तथा जंगल-झारहरू फाँड्ने काम गरियो। पर्यटकहरूलाई ल्याउने वाहनहरूका लागि नजिकै रहेको स्टैण्डमा पनि सर-सफाई गरियो साथै सो पर्यटक स्थल जाने मार्ग (एफएम रेडियो केन्द्रदेखि दुर्बिन डाँड़ा) को दुवै किनारमा रहेका फोहोर मैलाहरू पनि सफा गरियो। यस स्वच्छता अभियानमा सर-सफाई गरिएका फोहोर-मैलाहरू उठाएर उचित स्थानमा फालियो। स्मरण रहोस् प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा देशभरि स्वच्छता अभियान गत १७ सेप्टेम्बरदेखि शुरू गरिएको छ जो २ अक्टोबरसम्म चल्नेछ। यस अभियानमा आकाशवाणी समाचार विभागले आम मानिसहरूमा ३६५ दिन कुनै न कुनै रूपमा स्वच्छता बनाई राख्न प्रेरित गर्न विभिन्न स्वच्छता अभियानहरू प्रायः दैनिक रूपमा चलाई राखेको छ। यसै क्रममा दार्जिलिङ, मिरिक र कालेबुङमा पनि अभियान चलाइनेछ़ भएको जानकारी प्राप्त भएको छ।