पहाड़मा युवाहरूको संगठन ‘गोर्खा युथ एक्टिभिस्ट नेटवर्क’ को गठन

IMG-20240923-WA0245

खरसाङ: जीटीए क्षेत्रको विभिन्न स्थानमा सामाजिक अभियन्ताको रुपमा कार्य गरिरहेका युवाहरूलाई लिएर खरसाङको गोर्खा जनपुस्तकालय भवनमा एउटा सभा सम्पन्न भएको छ। यस सभामा जीटीए क्षेत्रको विभिन्न स्थानबाट सामाजिक अभियन्ताको रुपमा कार्य गरिरहेका युवाहरू बलियो शक्तिको रुपमा एउटै मञ्चमा आएर कार्य गर्नु पर्ने विषयमा व्यापक चर्चा भयो। चर्चामा विभिन्न स्थानबाट आएका युवा सामाजिक अभियन्ताहरूको सुझाउ, विचार अनि निर्णयपछि गोर्खा युथ एक्टिभिट्‌स नेटवर्क नामक एउटा गैर राजनीतिक संगठन गठन गरिएको छ। यस संगठनका संयोजकको रुपमा अधिवक्ता विरेन्द्र रसाइलीलाई चयन गरिएको छ भने विभिन्न क्षेत्रको निम्ति संयोजकहरूको पनि चयन गरिएको छ।
यस समुहमा जीटीए क्षेत्रको विभिन्न स्थानबाट सामाजिक अभियन्ताहरू सामेल गरिएको छ। यस संगठनमा खरसाङबाट रामकृष्ण शर्मा संयोजकको रुपमा चयन भएका छन्। त्यसरी नै लप्चुबाट कुन्दन मुखिया, लङ्‌भ्यू चिया बगानबाट सिमिका लामा, गोरुबथानबाट विकास राई, मिरिकाबाट सन्तोष लिम्बु, लेबोङबाट रोहित ठाकुर, अनुशा रुम्बा सोनादाबाट अनि रितिका गुरुङ कानुनी सल्लाकार चयन भएका छन्। सभा विषयमा पत्रकारहरूलाई जानकारी गराउँदै संगठनका खरसाङको संयोजक रामकृष्ण शर्माले हामीले विभिन्न स्थानमा कार्य गरिरहेका युवा सामाजिक अभियन्ताहरूलाई यो सभामा निम्ताएर एउटै मञ्चमा ल्याउनको निम्ति प्रयास गरेको बताएका छन्। उनले अधिवक्ता विरेन्द्र रसाइलीको अध्यक्षतामा सम्पन्न भएको यो सभामा जीटीए क्षेत्रमा रहेका युवाहरूलाई लिएर आगामी दिनमा के गर्ने भन्ने बारेमा चर्चा भयो र यसै सभामा हामीले गोर्खा युथ एक्टिभिट्‌स समूह गठन गरेको बताएका छन्।
समुहमा जीटीए क्षेत्रको विभिन्न स्थानबाट सामाजिक अभियन्ताहरू सामेल रहेको पनि जानकारी गराए। पत्रकार सम्मेलनमा अधिवक्ता तथा संगठनका संयोजक विरेन्द्र रसाइलीले पहाड़मा अहिले समस्याको थुप्रो लागेर बसेको छ र अवस्था चारैतिर डावाडोल र लथालिङ्‌ग छ अनि पहाड़को यो थलालिङ्‌ग अवस्थाको भुक्तभोगी युवाहरू भएका छन्‌ भनी बताएका छन्। उनले भने, युवाहरू राजनीतिक, आर्थिक, भौगलिक, सामाजिक सबै क्षेत्रमा वञ्चित बनेका छन्‌। अब युवाहरू धुरी खम्बा बन्न पर्छ, आजको दिनमा अभिभावक ठानिएक नेतृत्वहरू विफल बनेका छन्‌। आज कुनै राजनीतिक दलले राज्यलाई सघाउँदै उनीहरूतिर फर्किएर हेरिरहेका छन्‌ भने कुनै राजनीतिक दलले केन्द्रलाई सघाउँदै उनीहरूतर्फ फर्किएर हेरिरहेका छन्‌। यसको लाभ राज्य अनि केन्द्र सरकारले उठाएको छ। हामी यो नेता राम्रो, त्यो नेता नराम्रो, यो पार्टी राम्रो, त्यो पार्टी नराम्रो भन्ने विचारमा बाँचिरहेका छौँ। १९८६ मा हामी जस्तो थियौँ अहिले पनि त्यस्तै छौँ। यो स्थितिबाट निस्कनको निम्ति धुरी खम्बा युवाहरू नै बन्न पर्छ। आज हामीले गोर्खा युथ एक्टिभिस्ट नेटवर्कको घोषणा पत्र पनि सार्वजनिक गरेका छौँ। आजको दिनमा जीटीए क्षेत्रका युवाहरू हतोत्साहित बनिसकेका छन्‌। रोजगार छैन, बाहिर जान परिरहेको छ। हामी युवाहरूलाई एकिकृत गर्नेछौँ, शिक्षा प्रदान गर्नेछौँ अनि संघर्ष गर्नेछौँ। यसैले हामी सबै युवाहरूलाई एक सूत्रमा बाध्ने कार्य गर्नेछौँ। राजनीतिक रुपले हामी युवाहरूलाई बलियो बनाउने छौँ। आर्थिक रुपमा बलियो बनाउनको निम्ति कार्य गर्नेछौँ अनि संघर्ष गर्नेछौँ। हामी भष्टचार, चिया बगानको समस्या, मूल मुद्दा चिन्हारीको निम्ति कार्य गर्नेछौँ।’
उनले अघि भने, ‘हामी कुनै पनि राजनीतिक झण्डालाई समर्थन गर्नेछैनौँ। हामी कुनै पनि राजनीतिक दल, केन्द्र अनि राज्यको माध्यम बनेर कार्य गर्ने छैनौँ तर हामी राजनीतिक विषयमा कार्य गर्नेछौँ। गोर्खा जातिको मूल मुद्दाको निम्ति कार्य गर्ने भनी अहिले नयाँ राजनीतिक दल, समुहहरू गठन हुने प्रक्रिया चलिरहेको छ।’
पत्रकार सम्मेलनमा कन्सन युथका कुन्दन मुखिया, लङ्‌भ्यू परिवर्तन मुभमेन्टकी सिमिका लामाले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement