गान्तोक: भूतपूर्व मुख्यमन्त्री स्व नरबहादुर भण्डारीको ८४औं जन्म जयन्ती सोरेङ नजिक उनको पैतृक गाउँ माल्बाँसेमा भव्य रूपमा मनाइने भएको छ। आगामी २ अक्टोबरदेखि ५ अक्टोबरसम्म आयोजना गरिने चार दिवसीय कार्यक्रमलाई केन्द्र गर्दै आज भण्डारी जयन्ती समारोह समिति गठन गरिएको जानकारी समारोह समितिका सल्लाहकार जीपी दाहालले दिएका छन्। सल्लाहकार दाहालले दिएको जानकारी अनुसार कार्यसमितिमा प्रमुख संरक्षक पूर्व विधायक आदित्य गोले, सल्लाहकारमा बीआर लिम्बु, जीपी दाहाल र एसबी थापा, अध्यक्ष राजेन बस्नेत, उपाध्यक्ष मनोज थापा, महासचिवद्वय टीबी रावत र बलराम शर्मा लगायत अन्यहरूलाई सामेल गरिएको छ। कार्यक्रममा स्व. भण्डारीले कुशल मुख्यमन्त्रीको रूपमा सिक्किम राज्यको विकासमा पुर्याएका उल्लेखनीय योगदान अनि नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त गराउन खेलेको भूमिका सँगसँगै उनको जीवनीमाथि चर्चा परिचर्चा गरिने बताइएको छ। कार्यक्रमको अन्य आकर्षणहरुमा वार्ड स्तरीय भलिबल टुर्नामेन्ट, नृत्य प्रतियोगिता, सुपर मम प्रतियोगिता अनि पुरुष र महिलाको लठ्ठा तान्ने प्रतियोगिता रहेको जानकारी गराइएको छ। भण्डारी जयन्तीको उद्घाटन कार्यक्रम २ अक्टोबरमा राष्ट्रपिता महात्मा गान्धीको जन्मदिनको अवसरमा गान्धी जयन्तीलाई पनि कार्यक्रममा समावेश गरेर उक्त दिन स्वच्छता अभियानलाई लक्षित गर्दै कार्यक्रम गरिने भएको छ।