प्रबन्धन समितिको चुनावमा वाचा गरेका विषयहरू पूरा गर्नेछौं: एडवर्ड
दार्जीलिङ: पञ्चायत चुनावको लागि तयार बस्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले पार्टी कार्यकर्ताहरूलाई निर्देश दिएका छन्। शहरको माल रोडस्थित पी कोठीस्थित हाम्रो पार्टीको कार्यालयमा पार्टी अध्यक्ष अजय एडवर्डले पार्टी कार्यकर्ताहरू एंव समर्थकहरूसंग बैठक गरेका थिए। आयोजित बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष अजय एडवर्डले आफु पहाडको कुनै पनि ग्रामीण क्षेत्रहरूमा जाँदा त्यहाँको बाटोहरूको अवस्था सोचनीय रहेको, आफुले देखेको बताउँदै ग्रामीण क्षेत्रहरूमा पिउने पानीको ब्यवस्था छैन, स्वास्थ्य उपचारको राम्रो ब्यवस्था नभएको पनि बताए। विगत २२ वर्षदेखि पहाडमा पञ्चायत चुनाव भएको छैन, हामी पनि भारतकै नागरिक हौ तर हामीसंग यस्तो भेदभाव किन?? अध्यक्ष एडवर्डले प्रश्न तेर्साएका छन्। शहरीय क्षेत्रहरूको विकाश गर्न संवैधानिक ब्यवस्था नगरपालिका छ,त्यसरी नै ग्रामीण क्षेत्रहरूको विकाश गर्नलाई संवैधानिक पञ्चायती ब्यवस्था छ तर विगत २२ बर्षदेखि पहाडको ग्रामीणवासीहरूलाई पंञ्चायती ब्यवस्थादेखि बञ्चित राख्ने कार्यहरू भईरहेको छ जो उचित होइन अध्यक्ष एडवर्डले भने।शहरीय गरीब परिवारहरूका घर निर्माणको लागि साढे चार लाख रूपियाँ नगरपालिकाकोमार्फत् प्राप्त हुन्छ।

त्यसरी नै ग्रामीण क्षेत्रहरूका गरीब परिवारहरूका निम्ति पनि यस्ता थुप्रै योजनाहरू रहेको अध्यक्ष एडवर्डले बताए।पहाडमा तीन स्तरीय पञ्चायत चुनाव हुनपर्छ भन्ने मांग हामी सबैले गर्नुपर्छ भन्ने अध्यक्ष एडवर्डले आह्वान गरेका छन्। हाम्रो पार्टी एक राजनैतिक दल भएको हुनाले पहाडमा हुने कुनै पनि चुनावमा हामी अंश ग्रहण गर्नेछौं भनी बताएका छन्। उनले अघि भने,शान्ती रानी उच्चतर माध्यमिक विद्यालयको प्रबन्धन समितिको चुनावमा हाम्रो पार्टीले जीत हाँसिल गरेको छ,स्कूलको चुनाव अवधि हामीले जो वाचा गरेका थियौं त्यो हामीले पूरा गर्नपर्छ। शान्ती रानी उच्चतर माध्यमिक विद्यालयलाई तपाई हामी मिलेर मोडल स्कूल बनाउनु पर्छ,शान्ती रानी स्कूललाई मोडल स्कूलमा परिणत गर्नलाई,स्कूल प्रबन्धन समिति,हाम्रो पार्टी, एडवर्ड फाउण्डेशन हामी सबै मिलेर काम गर्नुपर्छ।











