अमेरिकाबाट : भुटान गजल मञ्चद्वारा आयोजित ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सँगसँगै भुटान गजल मञ्चको तदर्थ समिति विघटन गरी नयाँ कार्य समितिको गठन गरिएको छ। २१ अगस्त आइतबारको दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको जेफर्सन हिल्स शहरमा भुटान गजल मञ्चले ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सम्पन्न गरेको छ। भुटान गजल मञ्च तदर्थ समितिका संयोजक नेत्राचार्य कौडिण्यको सभापतित्व, भुटानी नेपाली साहित्यका पथ प्रदर्शक तथा अभिभावक गङ्गा लामिटारेको प्रमुख आतिथ्य, ओमाहा नेब्रास्काका व्यवसायी तथा सामाजिक व्यक्तित्व भीम गुरूङ् तथा तनहुँका कवि सत्यजी छेत्रीको विशेष आतिथ्यमा दिनको ठीक २ बजे शुरु गरिएको कार्यक्रममा अन्य धेरै स्रष्टाहरूको समेत उपस्थिति रहेको थियो।
कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’को कविता सङ्ग्रह आवाजहरूको जुलुस तथा गजलकार सबीन शर्माको गजल सङ्ग्रह ऐनाअघि उभिएर कृतिहरूमा चर्चा परिचर्चा गरिएको थियो। कार्यक्रममा उपस्थित सबैलाई स्रष्टा शेखर कोइरालाले स्वागत गरे। कार्यक्रमा दिपेन ढुङ्गाना, आभाष रिखाम, शेखर कोइराला, राज बराल, गोपाल पौड्याल, त्रिविक्रम न्यौपाने, अञ्जान भुटानी, सत्यजी छेत्रीलगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गरे। कवि धर्मेन्द्र तिम्सिना क्षितिजको कविता सङ्ग्रह आवाजहरूको जुलुस बारे स्रष्टा राज बरालले वक्तव्य प्रस्तुत गरे। “कविको यस कृतिमा उत्पिडनका ब्यथाहरू, जागरूकताका विषयहरू र समाज परिवर्तनका कुराहरू समावेश छन्। यस कृतिका हरेक कविताले सन्देश प्रवाह गरेका छन्।” स्रष्टा राज बराल भन्छन्l त्यस्तै गजलकार सबीन शर्माको गजल सङ्ग्रह ऐनाअघि उभिएर बारे स्रष्टा त्रिविक्रम न्यौपानेले गजलकार शर्माको लेखन शैलीको खुलेर प्रशंसा गर्दै “यस गजल सङ्ग्रह भित्रका हरेक गजलहरू गहन र जीवनपरक छन्” भने। भुटानी नेपाली साहित्यका एक अभिभावक गङ्गा लामिटारेले आफ्नो मन्तब्यमा अतीतका तिता क्षणहरूको स्मरण गर्दै, नेपाली भाषा तथा साहित्यको बचावटका लागि उनले गरेका दुःख, वर्तमान परिवेश र भविष्यमा आउने राम्रा र नराम्रा दुवै पक्षको जानकारी दिए। साथै, सधैँ यस्ता कार्यहरूमा आफ्नो सहभागिता र अभिभावकत्व प्रदान गर्ने समेत बताउनु भयो। त्यसै गरी, व्यवसायी तथा सामाजिक व्यक्तित्व भीम गुरूङ्, तनहुँका कवि सत्यजी क्षत्री लगायतका अतिथि तथा स्रष्टाहरूले आफ्नो मन्तव्य राख्नुभएको थियो। कवि धर्मेन्द्र तिम्सिना क्षितिज तथा गजलकार सबीन शर्माले पनि आफ्ना कृतिहरू बारे बताए। उनीहरूका कृतिहरू विश्व भूटानी साहित्य संगठनद्वारा आयोजित कार्यक्रम अन्तराष्ट्रिय सृजनात्मक अनुष्ठान-५ मा सिक्किमका पूर्व मुख्य मन्त्री पवन चाम्लिङ् र डा. गोविन्दराज भट्टराईको बाहुलीबाट विनोचित भएका थिए।
यसै बिच भुटान गजल मञ्च तदर्थ समितिको पूर्व वैठक अनुसार भुटान गजल मञ्च पुनर्गठन समितिको चयन गरिएको थियो। पातलो अन्तरेको संयोजकत्वमा अन्य दुई राज बराल तथा शेखर कोइराला गरी तीन सदस्यीय पुनर्गठन समिति गठन गरिएको थियो। उक्त पुनर्गठन समितिले भुटान गजल मञ्च तदर्थ समिति विघटन गरी मतदान प्रणालीद्वारा निर्विरोध निर्वाचन गरेको थियो। निर्वाचनमा पाँच बर्षे कार्यकालका लागि अध्यक्ष नेत्राचार्य कौडिण्य, उपाध्यक्ष पूर्ण नर्जाली, सचिव धर्मेन्द्र तिम्सिना ‘क्षितिज’, सहसचिव माया भट्टराई, कोषाध्यक्ष आर बि खड्का तथा प्रचार-प्रसार समितिमा वेणु मैनाली ‘ईट्टाघरे’ र अर्जुन प्रधान, सदस्यहरूमा शेखर कोइराला, पातलो अन्तरे, आभाष रिखाम, दिपेन ढुङ्गाना, अविनाश भट्टराई र भीम गुरूङ् गरी जम्मा १३ सदस्यीय कार्य समितिको गठन गरिएको छ। स्रष्टा पातलो अन्तरेको संयोजकत्वमा यो निर्वाचन गरिएको थियो। यसै गरी सल्लाहकार समितिमा प्रमुख सल्लाहकार गङ्गा लामिटारे सहित डेन्जोम साम्पाङ् ,अर्जुन रसाइली, जय वान्तवा, त्रिविक्रम न्यौपाने, केशव बैरागी, राज बराल, कर्ण गुरूङ् , खेम रिजाल र सबीन शर्मालाई सल्लाहकार चयन गरिएको थियो।
वि. सं. २०६० सालमा भुटान गजल मञ्चको स्थापना भएको थियो। धेरै अग्रज गजलकारहरूले यस संस्थाद्वारा भुटानी नेपाली समुदायमा सयौँ गजलकारहरूलाई जन्म दिएको इतिहास छ। पुनर्वासको प्रकृयामा आफ्नो र परिवारको व्यवस्थाको चपेटाले धेरै बर्षसम्म निष्क्रिय रहेको यस संस्थालाई आज बिगठीत तदर्थ समितिले पुनर्जीवन प्रदान गरेको थियो। कार्यक्रमको अन्त्यमा, कार्यक्रमका सभापति नेत्राचार्य कौडिण्यले “भुटान गजल मञ्च हामी सबैको सम्पत्ति भएकाले भूटानी नेपाली समुदायका हरेक गजलप्रेमीहरू यस संस्थाको सदस्य बन्न पाउनु हुनेछ। भुटान गजल मञ्चले सदस्यताको लागि प्रक्रिया सबैसामु चाँडै लिएर आउनेछ। भुटान गजल मञ्चले अब डटेर काम गर्नेछ।” भन्दै आफ्नो रचना वाचन सहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम विसर्जन भएको घोषणा गरे।