गान्तोक: सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले पार्टीका महत्वपूर्ण पदहरूमा नियुक्तिको क्रम आरम्भ गरेको छ। यसै क्रममा आज मुख्य संयोजक र कार्यकारी अध्यक्षको रुपमा क्रमैले मन्त्री सोनाम लामा र पूर्व मन्त्री कुङ्गा निमा लेप्चालाई नियुक्त गरेको छ। यस सम्बन्धमा पार्टीले आज दुईवटा अधिसूचना जारी गरेको छ। मन्त्री सोनाम लामाको मुख्य संयोजकको पदमा पुनर्नियुक्ति हो भने पूर्व मन्त्री कुङ्गा निमा लेप्चा यस अघि पार्टीको कार्यवाहक अध्यक्षक पदमा थिए। उल्लेखनीय छ, गत लोकसभा अनि विधानसभा चुनाउपछि सिक्किम क्रान्तिकारी मोर्चाले सबै पदहरूलाई बर्खास्त गरेको थियो भने पछि अध्यक्ष र महसचिवको पदमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र मन्त्री अरुण उप्रेतीलाई पुनर्नियुक्त गरेको थियो।