रुसले फेरि आफ्नो सेना बढाउने भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार राष्ट्रपति पुटिनले सोमबार सेनाको संख्या बढाउन आदेश दिएका छन्। आदेश अनुसार रुसी सेनामा १ लाख ८० हजार सैनिक भर्ती गरिने छ। यसबाट रुसी सेनामा कुल सैन्य कर्मचारीको संख्या करिब २३.८ लाख पुग्ने छ। यसमा सक्रिय सैनिकको संख्या १५ लाख हुनेछ। क्रेमलिनका अनुसार नयाँ भर्ती दिसम्बरमा हुनेछ। अहिले सक्रिय सैनिकको मामिलामा चीन, भारत र अमेरिका रुसभन्दा अगाडि छन्। नयाँ भर्ना भएपछि रूस सक्रिय सैन्य कर्मचारीको आधारमा दोस्रो हुनेछ। इन्टरनेशनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडीजका अनुसार चीनमा करिब २० लाख सक्रिय सैन्य कर्मचारी छन्। योसँगै भारतमा १४ लाख सक्रिय सैन्य कर्मचारी छन् भने अमेरिकामा १३ लाख सक्रिय सैनिक छन्। रुसी सेनाको आकार २५ महिनामा तेस्रो पटक बढ्नेछ, २०२२ को फरवरीमा युक्रेन युद्ध शुरु भएयता पुटिनले सेनाको आकार बढाएको यो तेस्रो पटक हो। पुटिनले सन् २०२२ को अगस्तमा १.३७ लाख सेना बढाउने आदेश दिएका थिए। योसँगै रुसी सेनामा कुल सैनिकको संख्या २० लाखभन्दा बढी पुगेको छ। यसमा ११.५ लाख सक्रिय सैनिक थिए। यसपछि सन् २०२२ को दिसम्बरमा रुसी सेनामा १ लाख ७० हजार सैनिक थपिएको थियो। योसँगै कुल सक्रिय सेना १३.२ लाख भयो। रुसले ८० वर्षमा पहिलो पटक जमिन गुमाएको रिपोर्ट आइरहेका बेला पुटिनको सेनाको संख्या बढाउने आदेश पनि महत्वपूर्ण छ किनभने गत महिना युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको थियो। युक्रेनले रुसबाट करिब १ हजार १७५ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको थियो। दोस्रो विश्वयुद्धपछि रुसले यति धेरै जमिन गुमाएको यो पहिलो पटक हो। तर, अब रुसले आफ्नो भूमि फिर्ता लिनको लागि प्रयासलाई तीब्र बनाएको छ। रिपोर्टका अनुसार गत हप्ता कुर्स्कका धेरै क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भिडन्त भएको थियो। यसैबीच, रुसले पूर्वी डोनबास क्षेत्रको महत्वपूर्ण युक्रेनी शहर पोक्रोभस्क कब्जा गर्ने प्रयासलाई तीव्र पारेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको रणनीतिक लक्ष्यहरूमा आक्रमण गर्न आफ्ना सहयोगीहरूसँग फेरि स्वीकृति मागेका छन्। जेलेन्स्कीले लामो दुरीका क्षेप्यास्त्रले रुसी सैन्य अड्डाहरूलाई ध्वस्त पारेर मात्र समाधान खोज्न सकिने बताएका छन्। रिपोर्टका अनुसार अमेरिका र बेलायतले गत सातासम्म युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने मन बनाएका थिए तर पुटिनको चेतावनीपछि उनीहरुले आफ्नो मन बदलेका थिए। वास्तवमा, पुटिनले पश्चिमी देशहरूलाई युक्रेनलाई लामो दूरीको हमला गर्ने क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिइयो भने परिणाम धेरै नराम्रो हुने चेतावनी दिएका थिए। पुटिनले रुसमाथि लामो दूरीको मिसाइलले आक्रमण गरेमा यो युद्धमा नेटो प्रत्यक्ष रूपमा संलग्न भएको मानिने बताएका थिए। पुटिनको चेतावनीपछि ह्वाइट हाउसले विज्ञप्ति जारी गर्नुपरेको थियो। युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र आपूर्ति गर्ने विषयमा हाल कुनै निर्णय नभएको विज्ञप्तिमा उल्लेख छ।