नाम्ची: नाम्चीमा सम्पन्न राज्यस्तरीय भजन गायन प्रतियोगितामा युवा प्रतिभाहरुले उत्साहपूर्वक भाग लिएका छन्। कार्यक्रमको आयोजन विश्वकर्मा (कामी) कल्याण समितिले गरेको हो। राज्यस्तरीय विश्वकर्मा पूजा उत्सव समितिको सक्रियतामा आयोजित कार्यक्रम नाम्चीको स्थानीय होटलमा सम्पन्न भएको थियो। यसबीच सिक्किम सरकारका शहरी विकास तथा खाद्य नागरिक आपूर्ति विभागीय मन्त्री भोजराज राई प्रमुख अतिथिको रुपमा उपस्थित थिए। मन्त्री राईले आफ्नो सम्बोधनमा समुदायलाई एकताबद्ध गर्नको लागि समितिले गरेको प्रयासको सराहना गरे। उनले विश्वकर्मा समुदायलाई एकताको महत्वमा जोड दिँदै आजको प्रतिस्पर्धात्मक विश्वमा उत्कृष्टताका लागि प्रयास जारी राख्ने आग्रह गरे। उनले स्थानीय प्रतिभाको पक्षमा बोल्दै खेलकुद र कलाकारितामा युवाहरु अघि आउने सुझाउ राखे। मन्त्री राईले विभागबाट दिइने लाइसेन्स नियमावलीको समस्यालाई सम्बोधन गर्दै उचित कागजपत्रबिना कुनै पनि लाइसेन्स जारी तथा नवीकरण नगर्ने बताए। उनले १७ सेप्टेम्बरदेखि दुई अक्टोबरसम्म चल्ने स्वच्छता ही सेवा अभियान २०२४ मा सक्रिय रूपमा सहभागी हुन समुदायलाई प्रोत्साहन गरे। आयोजक संस्थाका राज्य संयोजक, डा. आरबी विश्वकर्माले आफ्नो सम्बोधनमा १९७७ देखि विश्वकर्मा समुदायको कल्याणमा संस्थाको भूमिकाबारे जानकारी गराए। प्रतियोगितासँगै समुदायको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने परम्परागत गहनाको प्रदर्शनी पनि राखिएको थियो। भजन गायन प्रतियोगितामा जम्मा २९ जना सहभागी थिए। यसमध्ये पहिलो बुनु परियार, आशिष सिन्चुरी दोस्रो र अन्जुली तामाङ तेस्रो भएका थिए। विजेताहरूलाई एक भव्य कार्यबीच सम्मानित गरिनेछ।