सरमसा गार्डनमा नारी शक्तिले पालन गर्‍यो राज्यस्तरीय तीज उत्सव

IMG-20240908-WA0211

गान्तोक: राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको नारी शक्तिद्वारा आयोजित राज्यस्तरीय तीज उत्सव आज पूर्व सिक्किमको रानीपुल नजिक सरमसा गार्डनमा सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको मुख्य आकर्षण अन्तर समष्टी सामूहिक नृत्य प्रतियोगिता रहेको थियो। राज्यका प्रत्येक जिल्लाबाट पहिले नै प्रतियोगिता मार्फत चुनिएका एक-एकवटा समष्टि गरी जम्मा ६ वटा समष्टिले आजको चुड़ान्त प्रतियोगितामा भाग लिएको थियो जसमा मंगन जिल्लाको जङ्गु समष्टि प्रथम बन्यो भने गान्तोक जिल्लाको स्यारी दोस्रो अनि गेजिङ जिल्लाको याङ्गथाङ समष्टी तेस्रो बन्यो। विजेता प्रथम, दोस्रो अनि तेस्रो समष्टिलाई क्रमैले १० लाख, ७ लाख अनि ५ लाख रुपियाँ नगद पुरस्कार प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिहं तामाङले यस वर्षको तीज पर्व गत ६ सेप्टेम्बरको दिन परेको तर त्यस दिन आमा चेलीहरू आ-आफ्नो घरमा पर्व मनाउन व्यस्त हुनभएकोले यस राज्यस्तरीय तीज उत्सवलाई आज छुट्टीको दिन पारेर आयोजना गरिएको बताए। एसकेएम पार्टीको नारी शक्तिले यो पर्व आयोजना गर्नुको उद्देश्य राज्यमा साम्प्रदायिक सद्भावनालाई बड़ावा दिनु रहेको पनि उनले थप बताए। अर्कोतिर राज्य सरकारको नीति पनि राज्यका सबै जात अनि धर्मिक समुदायलाई एउटै साझा मञ्चमा ल्याएर साम्प्रदायिक सद्भावना कायम राख्ने रहेको पनि मुख्यमन्त्रीले अझ बताए। आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले वर्तमान राज्य सरकारले नारीहरूको हितमा गरेका विभिन्न कार्यहरू बारे पनि संक्षिप्तमा जानकारी गराए। यसको साथै आफ्नो सरकारकालमा एकजना नारी मुख्य सचिव बनोस भन्ने पनि आफ्नो चाहना रहेको उहाँले अझ बताए।
आजको कार्यक्रममा एसकेएम नारी शक्तिद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै राज्यकी पहिलो विधानसभा अध्यक्ष तथा पूर्व मन्त्री श्रीमती कलावति सुब्बा र राष्ट्रीय शिक्षक पुरस्कार २०२४ प्रापक श्रीमती याङ्किला लामालाई पनि अभिनन्दन जनाइयो।

कार्यक्रममा नारी शक्तिकी पूर्व संयोजक श्रीमती गंगा परसाईंले जीत पर्वको महत्वबारे वक्तव्य राखिन् भने राज्य विधानसभाकी उपाध्यक्ष तथा राज्यस्तरीय तीज उत्सव आयोजक समितिकी अध्यक्ष श्रीमती राजकुमारी थापाले पनि सम्बोधन गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement