भद्रपुर: रुपन्देहीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि तीव्र गतिमा काम अगाडि बढेको छ। भण्डारणगृह निर्माणका लागि सुरुमा जग्गा व्यवस्थापनको काम अगाडि बढाइएको हो। ओमसतिया र रोहिणी गाउँपालिकाको सिमानामा पर्ने रोहिणी नदी किनारमा भण्डारण गृह बन्ने छ। जसका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
लुम्बिनी प्रदेशस्तरीय पेट्रोलियम इन्धन भण्डारण डिपो निर्माण गर्न गत मई ३१देखि जग्गा व्यवस्थापनको काम थालिएको थियो। नेपाल आयल निगमका उपनिर्देशक तथा भण्डारण निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवका अनुसार निर्माणस्थलमा अहिले ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएको छ।
निर्माणस्थलमा रोहिणी खोलामा आउने बाढीबाट हुन सक्ने क्षति रोक्नका लागि ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउन थालिएको हो। परियोजनाको पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्की निर्माण गरिने यादवले बताए।
निगमले तीन वटा ठेकेदारमार्फत भण्डारणगृहको जग्गा व्यवस्थापनको काम जारी राखेको छ। भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणीमा आएको बाढीले ढिला भएको यादवले बताउछन।
निर्माणस्थलमा छ मिटर उचाइको ६२० मिटर ग्याबिन र उत्तरतर्फ ४.२ मिटर उचाइको १५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ। भण्डारणगृहलाई बाढीबाट सुरक्षित राख्न परियोजना स्थलभन्दा माथि करिब १८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ। रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ।
एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउन्ड’ निर्माणको काम थालिने योजना छ। करिब तीन अर्ब रुपियाँको लागतमा भण्डारणगृह निर्माण गर्न थालिएको हो।











