पीएनजी स्कूलको शतवार्षिकी अन्तर्गत विभिन्न कार्यक्रम आयोजित

IMG-20240903-WA0343

गान्तोक: राजधानीस्थित पाल्जर नामग्याल कन्या उच्च विद्यालयले यो वर्ष आफ्नो स्थापनाको सतवार्षिकी पुरा गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ। यसै क्रममा आज कञ्चनजङ्गा लिट- फेस्ट (कञ्चनजङगा साहित्यिक उत्सव) २०२४ कार्यक्रमको अन्तिम दिनको कार्यक्रम स्कूल परिसरमा सम्पन्न भयो। यस अवसरमा सिक्किम सरकारका शिक्षा विभागका मन्त्री राजु बस्नेत कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री बस्नेतले पीएनजी स्कूलले यसरी शिक्षाको क्षेत्रमा १०० वर्ष पूरा गरेकोमा सम्पूर्ण शिक्षक शिक्षिका साथै विद्यार्थीहरुलाई बधाई दिए। यस स्कूलले यति भव्यताका साथ साहित्यिक उत्सव पालन गरेकोमा उनले हर्ष प्रकट गर्दै यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुमा सृजनात्मक क्षमता बढाउने साथै साहित्यको क्षेत्रमा अघि बढ्न उत्साह प्रदान गर्ने मन्तव्य प्रकट गरे। आफू विद्यार्थी रहेको समयलाई स्मरण गर्दै उनले शिक्षा प्राप्त गरेको स्कूल सन्त जेभियर्स साथै स्कूलका शिक्षक शिक्षिकाहरुप्रति कृतज्ञता प्रकट गरे। पीएनजी स्कूलका प्रधान अध्यापिका साथै शिक्षक शिक्षिकाहरुले सुचारु रुपले स्कूल संचालन गर्दै शिक्षाको क्षेत्रमा स्कूलले आजसम्म धेरै ठूलो योगदान पुऱ्याउँदै आइरहेको कुरा उल्लेख गर्दै स्कुलले धेरैजना होनहार विद्यार्थीहरुलाई जन्म दिइसकेको कुरा उनले बताए। राज्यका मुख्यमन्त्रीले विशेष गरेर कन्या विद्यार्थीहरुका हितमा धेरै योजना आरम्भ गरिसकेको कुरा बताउँदै मुख्यमन्त्री सदैव राज्यका विद्यार्थीहरुका लागि सचेत रहेको अवगत गराए। उनले उपस्थित विद्यार्थीहरुलाई लगनशील भएर अघि बढने र आफ्नो भविष्यलाई उज्ज्वल बनाउने सल्लाह दिए।
कार्यक्रममा लेखक साथै पत्रकार दिवाकर बस्नेतले पनि आफ्नो पुस्तक साथै जीवनका अनुभवहरु साझा गर्दै प्रेरक सम्भाषण प्रस्तुत गरेका थिए। यस साहित्यिक उत्सवमा सिक्किम साथै उत्तर प्रदेश, पश्चिम बंगाल, झारखण्ड आदि स्थानहरुबाट पनि धेरै स्कूलले पनि उत्साहपूर्वक भाग लिएका थिए। कार्यक्रममा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा विभिन्न विद्यालयलाई पराजित गर्दै सनबिम सनसिटी स्कूलले तेस्रो स्थान, सनबिम मुगलसराय स्कुलले दोस्रो अनि मञ्जुश्री पब्लिक स्कुल गान्तोकले पहिलो स्थान प्राप्त गर्न सफल बन्यो।यसरी नै तर्क प्रतियोगितामा सल्लाबिला स्कुल राँची र पाल्जर नामग्याल स्कुल फाइनलमा प्रवेश गरेका थिए जसमा सल्लाबिल्ला स्कुल राँची विजयी बन्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement