दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामालाई गोजमुमोले शिरको टोपीको रूपमा मान्दै आएको तर भागोप्रमोले खुट्टामा लगाउने मोचा सरह बनाएको प्रतिक्रिया गोजमुमोका एकजना नेता विजय सुन्दासले एक सभामा भनेको भन्दै यो बयानको प्रतिक्रिया सभासद एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जिलिङ महकुमा समितिको प्रवक्ता सन्दीप छेत्रीले बताएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरी आरोप लगाउँदै भनेका छन् -‘गोजमुमो राजनैतिक पार्टी होइन तर यस्तो नेताहरूको अखड़ा हो जहाँ नेताहरू आफू दिल्ली, कलकत्तातिर सुरक्षित बसेर जनतालाई सड़कमा निधारमा गोली थाप्न निकाल्छन्। जनतालाई आन्दोलनको नाममा विचल्नी बनाएर आफूहरू सुरक्षा खोज्दै पाँचतारे होटेलहरूतिर मोजमस्ती गर्छन्। अर्थात् गोजमुमोका नेताहरू जनतासितै सड़कमा उत्रिएर जनताको निम्ति सेवा कार्य गर्ने नेताहरू होइनन् तर जनताको भावना र आकांक्षालाई दिल्लीतिर सत्ता र पैसाको निम्ति दावँ लगाउने जुवाड़ेहरू हुन्।’
उनले अघि भने, ‘अमर लामा जनताका नेता हुन्, जनताको निम्ति जनतासितै सड़कमा उत्रिएर जनसेवा गर्ने नेता हुन्। जनताको हितको निम्ति मञ्चमा बसेर अह्राउने नेता होइन तर सड़कमा बसेर जनतासितै बसेर काम गर्ने नेता हुन्। यस्ता कर्मशील नेतालाई गोजमुमोका नेताहरू खुट्टाका मोचा सम्झिन्छन् भने उनीहरूको नजरमा जनताको औकात झन् के होला।’
सभासद सन्दीप छेत्रीले अझ भने, ‘बिजय सुन्दासले आज हाम्रो प्रिय अनि आदरनीय नेता अमर लामाप्रति यस्तो प्रतिक्रिया गर्दै गर्दा उनको छेउमा एकजना यस्ता नेताले मञ्च साझा गरिरहेका थिए जो २०१७ सालको आन्दोलनको पहिलो दिनदेखि पहाड़बाट लगभग ३ वर्षसम्म लापत्ता थिए। १३ जना आन्दोलनकारीहरूले शहादत हाँसिल गर्दा उनी त दिल्लीमा ढुक्कले घुमिरहेका थिए। आन्दोलन सकेर लगभग ३ वर्षपछि मात्रै उनी एकैचोटि कलकत्तामा देखापरेका थिए। अहिले दार्जीलिङमा शान्त परिवेश छन् र उनी ढुक्कले पहाड़ फर्किएका छन्।’
सभासद सन्दीप छेत्रीले भनेका छन् -‘यदि जनतालाई आवश्यक परेको बेला सुरक्षा खोज्दै भाग्ने नेताहरूको शिरको टोपी हुनभन्दा जनताको सेवा गर्दै जनताको खुट्टाको मोजा भएर बस्न हामीलाई स्वीकार छ। जनताको दुःख अनि सुख दुवै समयमा हामी जनताको साथमा बस्दा हामीलाई खुट्टाको मोजाको उपमा मिल्छ भने हामी त्यो उपमा खुशी-खुशी ग्रहण गर्न तयार छौं। जुन पार्टीले नेतालाई शीरको टोपी सम्झन्छ उनीहरूको निम्ति जनता खुट्टाका मोजा हुन्। भागोप्रमोको निम्ति नेता होइन तर जनता हाम्रो शिरको टोपी हो।’