सोरेङ: सोरेङ जिल्ला विकास समन्वय तथा अनुगमन समिति (दिशा)-का अध्यक्ष एवं लोकसभा सांसद इन्द्रहाङ सुब्बाको अध्यक्षतामा सोरेङ रुर्बन कम्प्लेक्सको सम्मेलन कक्षामा दिशाको सभा सम्पन्न भयो। सोरेङ नयाँ जिल्लामा परिणत भएपछि यो तेस्रो पटक दिशा सभा सम्पन्न भएको हो। सभामा दिशाका सदस्य तथा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, विधायक इरुङ तेन्जिङ लेप्चा, पूर्व विधायक आदित्य गोले, जिल्ला पञ्चायतका उपाध्यक्ष चन्द्रवीर कामी, दिशाका सदस्य सचिव तथा जिल्लापाल धिरज सुवेदी, एडीसी (विकास) गायस पेगा, जिल्ला पञ्चायतका सदस्यगण, ग्राम पञ्चायतका सभापतिगण, सोरेङ जिल्लाका विभागीय शीर्षगण, बीडीओ र विभागीय प्रतिनिधिहरुको उपस्थिति थियो। आज सम्पन्न दिशा सभामा केन्द्र सरकारद्वारा सञ्चालित विभिन्न विकासीय योजना र जन कल्याणकारी कार्यक्रम सम्बन्धमा ११ वटा विभागका विभागीय अधिकारीहरुले उक्त योजनाहरुको कार्यान्वयन र कार्यप्रगतिबारे जानकारी दिँदै हाउसमा पावर पोइन्ट प्रस्तुति राखे। यी विभागहरुमा ग्रामीण विकास विभाग, स्वास्थ्य विभाग, शिक्षा विभाग, कृषि विभाग, भू-राजस्व तथा आपदा प्रबन्धन, मत्स्यपालन विभाग, सहकारिता विभाग, समाज कल्याण विभाग, खेलकुद एवं युवा मामिला विभाग, पर्यटन विभाग र महिला एवं शिशु विकास विभाग रहेका थिए। विभागीय अधिकारीहरुले दिशा समिति समक्ष राखेका पावर प्वाइन्टमाथि दिशाका अध्यक्ष सांसद इन्द्रहाङ सुब्बा, दिशा सदस्यद्वय विधानसभा अध्यक्ष एमएन शेर्पा र विधायक इरुङ तेन्जिङ लेप्चा, पूर्व विधायक आदित्य गोले र जिल्ला साथै ग्राम पञ्चायतहरुले आ-आफ्नो मन्तव्य राखे। उल्लेख्य, सरकारको विकास योजना र जनकल्याणकारी कार्यक्रमलाई प्रभावकारी ढङ्गमा समयसिमाभित्र कार्यान्वयन गराउन सांसदको अध्यक्षतामा जिल्ला अन्तर्गत निर्वाचित विधायकगण, पञ्चायती राज संस्थामा निर्वाचित जनप्रतिनिधिहरूबीच राम्रो समन्वय गर्न जिल्ला विकास समन्वय तथा अनुगमन समितिहरू (दिशा) गठन गरिन्छ। सरकारको ग्रामीण विकास मन्त्रालय अन्तर्गत एउटा ठूलो पहल हो जसले सहभागितामूलक शासन र विचारमूलक लोकतन्त्रलाई बढावा दिन दिशा गठन गरिएको हो। दिशाले जिल्लाभित्र केन्द्र सरकारद्वारा सञ्चालित सबै विकासीय र जनकल्याणकारी गतिविधिहरूको त्रैमासिक समीक्षा गर्छन्। दिशा समितिको अध्यक्ष जिल्लाबाट निर्वाचित र ग्रामीण विकास मन्त्रालयबाट मनोनीत सबैभन्दा वरिष्ठ सांसदलाई बनाइन्छ। तर सिक्किममा एकमात्र लोकसभा सांसद भएको हुँदा राज्यका ६ वटै जिल्लाका दिशा अध्यक्ष सांसद इन्द्र हाङ सुब्बा रहेको छ। दिशा समितिहरूले दिशा बैठकहरूमा छलफलको क्रममा उठाइएका मुद्दाहरूमा जानकारी खोज्ने र प्रभावकारी अनुगमनको माग गर्ने अधिकार रहन्छन्। बैठक प्रभावकारी र समयमै फलोअप सुनिश्चित गर्न सदस्य सचिव जिल्लापालको ठूलो भूमिका रहन्छ। दिशा बैठकमा राष्ट्रिय ग्रामीण जीविका मिशन, प्रधानमन्त्री ग्राम सडक योजना, प्रधानमन्त्री आवास योजना (ग्रामीण), दीन दयाल उपाध्याय ग्राम ज्योति योजना, प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम, जलाधार विकास, राष्ट्रिय ग्रामीण खानेपानी कार्यक्रम, राष्ट्रिय स्वास्थ्य मिशन, मध्यान्ह भोजन योजना, आइसीडीएस, साझा सेवा केन्द्र योजना, दीनदयाल उपाध्याय ग्रामीण कौशल योजना (डुग्की), नेशनल एग्रिकल्चर ई-मार्केट, जलमार्ग विकास परियोजना, प्रधानमन्त्री आवास योजना, प्रधानमन्त्री आदर्श ग्राम योजना, प्रधानमन्त्री फसल बीमा योजना, प्रधानमन्त्री ग्रामीण डिजिटल साक्षरता अभियान, स्वच्छ भारत मिशन, प्रधानमन्त्री उज्वला योजना, श्यामा प्रसाद मुखर्जी रुर्बन मिशन, प्रधानमन्त्री कृषि सिंचाई योजना, प्रधानमन्त्री कौशल विकास योजना, राष्ट्रिय कृषि विकास योजना, राष्ट्रिय पशु रोग नियन्त्रण कार्यक्रम, बाल संरक्षण र सुरक्षा योजना, प्रधानमन्त्री मातृ वन्दना योजना इत्यादिमाथि बैठकमा विषय उठाइयो।