गान्तोक: आगामी दिनमा सम्पन्न हुने सुब्रतो कप अन्तर्राष्ट्रीय फुटबल प्रतियोगिताको निम्ति छनौट भएका फुटबल टोलीका खेलाडीहरूले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। १७ वर्ष भन्दा मुनिका खेलाडीहरूको निम्ति आयोजना गरिने सुब्रतो कप फुटबल प्रतियोगितामा सोमबारिया सरकारी वरिष्ठ माध्यमिक विद्यालयका खेलाडीहरूले सहभागिता जनाउने भएका छन्। पूर्व खेलाडी सञ्जु प्रधानको नेतृत्वमा गएका खेलाडीहरूले मुख्यमन्त्रीसँग भेट गरेका हुन्। यस प्रतियोगिताले अवश्य पनि राज्यका फुटबल खेलाडीहरूलाई प्रेरणा दिनकासाथै फुटबल खेललाई अघि बढाउन सकिने मुख्यमन्त्रीले आशा व्यक्त गरेका छन्। फुटबल खेल आफ्नो निम्ति एक जुनुन रहेको मुख्यमन्त्रीले बताएका छन्। मुख्यमन्त्रीले सञ्जु प्रधानको नेतृत्वमा जाने फुटबल टोलीलाई शुभकामना दिँदै यस प्रतियोगिता राज्यका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राज्यलाई सम्मान दिलाउने उनले विश्वास व्यक्त गरेका छन्।









