खरसाङ: काेलकत्तामा नेपाली भाषा मान्यता दिवस पालनसितै भाषाविद् एंव वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हा र शान्ति राईलाई सम्मान जनाइएको छ। लैनसिंह बाङ्देल साहित्य/कला प्रतिष्ठान कलकत्ताद्वारा रविन्द्र सदनको अबानिन्द्र सभा गृहमा आयोजित कार्यक्रममा सभापति देविका मोक्तान, प्रमुख अतिथि वरिष्ठ भाषाविद् डा. गोकुल सिन्हा, विशिष्ट अतिथि वरिष्ठ समासेवी शान्ति राई टिस्टा, सुप्रिना ब्लोन, एसिस्टेन्ट डाइरेक्टर सूचना अनि साँस्कृतिक विभाग, पश्चिम बंगाल सरकार, खिमराज बराल, सभापति भारत नेपाल, जनमैत्री साँस्कृतिक मञ्च काेलकत्ता, वरिष्ठ कथाकार समशेर अली, गुञ्जदास श्रेष्ठ सभापति श्री श्री जानकी माता नेपाली धार्मिक सङ्घ कलकत्ता रहेका थिए।

उक्त कार्यक्रममा उदबोधन गीत जादवपुरका विद्यार्थीहरू देवनसिस छेत्री, प्राप्ति सुन्दास, आदित्य सुब्बा, थुप्देन लामा, यलम राई, रिन्छेन लेप्चा, दावा डोल्मा शेर्पा, डुप्चेन लामा, प्रज्ञा सिन्चुरी, छेवाङ रुम्बा, सैरोन रसाइली, लेन्डुप लामा अनि बेदान्त तामाङले प्रस्तुत गरेकी थिए। कार्यक्रममा वरिष्ठ भाषाविद् डा. गोकुल सिन्हालाई मातृभाषा सेवाश्री सम्मान, वरिष्ठ समाजसेवी शान्ति राईलाई वीर खड्गबहादुर विष्ट समाजसेवा सम्मानले सम्मानित गरियो। प्रा अशेष लिम्बूले स्वागत सम्भाषण राखेपछि कार्यक्रममा डा किरण सुब्बाले बाङ्देलको जीवनी प्रस्तुत गरे। कार्यक्रममा शान्ति राई अनि गोकुल सिन्हाले पनि आफ्नो मन्तव्य राखे। डा सिन्हाले भाषाको जन्म, भाषाको विकास, भाषाको संघर्ष, भाषाको मान्यता अनि मान्यतापछि भाषाको अवस्थाबारे सारगर्भित वार्ता प्रस्तुत गरे। यसैबीच ५० को दशकमा लैनसिंह बाङ्देलद्वारा सम्पादित प्रकाशित ‘प्रभात’ जो २०१४ बाट पुन: प्रकाशन गरिन्दैछ। उक्त पत्रिकाको पनि नयाँ अङ्क सार्वजनिकरण गरियो। वीर खड्गबहादुर विष्टबारे विकास कार्कीले बताएका थिए। कार्यक्रममा कवि गोष्ठी अनि विद्यार्थीहरूमा नेपाली भाषामा लघु श्रव्य दृष्य (अडियो भिजिवल) प्रतियोगिता पनि राखिएको थियोे। जसमा प्रथम गोरुबथान निवासी याङ्की शेर्पा, दोस्रो अनिमेष भुजेल अनि तेस्रो महल्दिराम खरसाङका विद्यार्थी भए।

कार्यक्रममा समशेर अली, राजु पाठक, टिकाराम गोपाल भित्रीकोटि, मिनाक्षी सांगनेरिया, निर्जला तामाङ, सञ्जीव गुरुङ, सन्तोषचन्द्र दर्नाल, दिपेन्द्र दर्नाल, निकेस लिम्बू आशा उपाध्याय बराल, सन्तोषी सिंहले कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन निमा मोक्तान निष्कर्षले गरेका थिए भनी लैनसिंह बाङ्देल साहित्य/कला प्रतिष्ठान कलकत्ताको मूल सचिव विकास कार्कीले जानकारी दिएका छन्।








