खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस लगायत अन्य सांगठनिक विषयमा भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिको उपाध्यक्ष राजु लामाको अध्यक्षता र पञ्चायत समिति सदस्य एंव समष्टिको सांगठनिक सचिव वाङ्दी लामाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समष्टी सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत उप प्रधान रञ्जित थापा, पञ्चायत समिति सदस्या अनिरा वाईबा, बिनयकुमार छेत्री, विद्यार्थी संगठन तीनधारे महानदी समष्टीको सचिव शुभम प्रधान लगायत अन्यहरूले वक्तव्य राखेका थिए। सभामा विशेष गरेर आगामी ९ सेप्टेम्बरमा मिरिकमा हुने स्थापना दिवसमा तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुबाट पार्टी प्रतिनिधिहरू जाने निर्णय गरिएको बताइएको छ। त्यसरी नै अब पार्टीको प्रत्येक सदस्यको घरमा पार्टीको झण्डा लगाउने र स्वेच्छाले पार्टीको सदस्यता दिने भएको छ। त्यसरी नै आगामी १ सेप्टेम्बरमा घैयाबारीमा सांगठनिक सभा राखेर तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा कार्यरत् आँगनवाडी कर्मीहरू र आशा कर्मीहरूलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठनको रूपमा कमिटी गठन गरिने भएको जानकारी गराइएको छ।

आजको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव एंव पञ्चायत समिति सदस्य वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।