कालो झण्डा दिल्लीपट्टि फर्काएर अब दिल्लीलाई गाली गर्नुपर्छ: विधायक निरज जिम्बा
दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पार्टीको झण्डालाई केही समयको निम्ति पन्साएर आज दार्जीलिङ सुमेरु मञ्चमा गोर्खा नागतिकता दिवस पालन गरेको छ। २३ अगस्त १९८८ को दिन भारत सरकारले गोर्खाहरु भारतको खाटि नागरिक हुन् भनी भारत सरकारले अधिसूचना जारी गरेपछि यसको औचित्यबारे जानकारी गराउँदै सुमेरु मञ्चमा जनसभाको आयोजना गरी जनतालाई वक्ताहरुले जानकारी गराएका छन्। पुरण राईले सञ्चालन गरेको जनसभालाई सञ्जय खवासले स्वागत भाषण राख्दै एमजे सुब्बा, सुरज कटुवल, भुपेन गुरुङ, युद्ध छेत्री, भक्त जैरु, ऋषि थापा अनि विधायक निरज जिम्बाले आफ्नो वक्तव्य राखेका थिए। आफ्नो वक्तव्यमा एमजे सुब्बाले २२ अगस्ट अनि २३ अगस्ट १९८८ को औचित्यबारे जानकारी गराउँदै भने, ‘आज हामीले कालो झण्डा लगाउनुको अर्थ गोर्खाहरु खुशी छैन, भारत सरकार न्याय देऊ भन्ने सन्देश दिनु हो। ५ अप्रेल २०२५ सम्म पनि भारत सरकारले न्याय दिएन भने हामी जेल जान पनि तयार छौं।’
जनसभालाई सम्बोधन गर्दै सुरज कटुवलले भने, ‘सुवास घिसिङको महान दुरदर्शिताको कारण भारतभरि छरिएर बसोबास गर्ने गोर्खाहरुले एक नम्बरको भारतीय नागरिकता प्राप्त गर्न सक्यौं। अब भारत सरकारले मुख खोल्नुपर्छ। दिनदिनै गोर्खाहरुको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको छ। अब सबै एक हुनपर्छ।’
प्रमुख वक्ताको रुपमा बोल्दै दार्जीलिङका विधायक निरज जिम्बाले भने, २२ अगस्ट अनि २३ अगस्ट १९८८ गोर्खाहरुको महत्वपूर्ण दिन हो। गोर्खाहरुले आफ्नो किपट पाएको दिन हो। गोर्खाहरुले नागरिकता पाएको दिन हो। गोर्खाहरुले प्रथम दर्जाको नागरिकता पाएको दिन हो। तर हामीले भुल्यौं। सबै कुर्सीको पछि लाग्यो। हामीले कालो झण्डा लगाउनुको अर्थ भनेको चाहि चुनौती हो।दार्जीलिङ पहाड नै बगाउनु आटेको छ। अब जाग्नुपर्छ गोर्खाहरु। लालकोठीको कुर्सी ताक्ने धेरै छ। कालो झण्डा लगाउनुको अर्थ थुप्रै छ अहिले नै खुलासा गर्नु मिल्दैन। बंगाल हाम्रो चिहान हो भन्दै हिँड्ने बुद्धिजीवीहरु खोइ त ? आफ्नो जातिको सम्मान र स्वभिमानको निम्ति विधायक पदबाट राजीनामा ठुलो कुरा होइन। देशको निम्ति हामीले हजारौं बलिदान दिऔ तर हामीले न्याय पाउनु सकेको छैनौं।’
विधायक निरज जिम्बाले अघि भने, ‘हाम्रो सबै कुरा लग्यो । 22 अगस्ट 1988 को सम्झौता गोर्खा किपट पनि बिगार्यो। छैटौं अनुसूची पनि बिगार्यो। जब तिमीले हामीलाई न्याय दिनु सक्दैनौं भने हाम्रो नागरिकता पनि लैजाउ। तिमीले नागालाई न्याय दियौं। मिजोलाई न्याय दियौं लदाखिलाई न्याय दियौं गोर्खालाई किन न्याय दिदैनौं। गोर्खाल्याण्ड गोर्खाको निम्ति होइन तर राष्ट्रिय सुरक्षाको निम्ति गोर्खाल्याण्ड हो। यो आन्दोलन अगि बड्दैछ। यो मैले संकेत मात्र दिएको हो। हामीलाई देशको माया छ। छात्ती चिरेर देखाउँदा पनि देशको माया देख्छ। तर अब देशले पनि माया गर्नुपर्छ। राष्ट्रको हितमा हामीले न्याय मागेको हो।’
विधायक जिम्बाले अझ भने, ‘कालो झण्डा दिल्लीपट्टि फर्काएर अब दिल्लीलाई गाली गर्नुपर्छ।संसारको कुनै पनि शक्तिले हरियो झण्डालाई रोक्नु सक्दैन।’