डुवर्सका मूर्धन्य भाषा-सङ्ग्रामी बुद्धिमान योञ्जन (बीएम योञ्जन/माइला बाउ)-लाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले ‘भाषा सेवा सम्मान पुरस्कार २०२४’ द्वारा अलङ्कृत गर्ने 

n627833174172443466887330bdd103556569b6a5ebfaf843cb6f8cd9c3cb9f4a5224243020cf07049d427d

बाग्राकोट: डुवर्सका मूर्धन्य भाषा-सङ्ग्रामी बुद्धिमान योञ्जन (बीएम योञ्जन/माइला बाउ)-लाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले ‘भाषा सेवा सम्मान पुरस्कार २०२४’ द्वारा अलङ्कृत गर्ने भएको छ।

जीटीएको सूचना एवं संस्कृति विभागले आगामी ३१ अगस्तको दिन दार्जीलिङको भानु भवनमा आयोजन हुने एक भव्य समारोहबीच योञ्जनलाई भाषा सेवा सम्मान प्रदान गर्ने भएको छ। पुरस्कारमा नगद राशि ५० हजार, अङ्ग-वस्त्र र प्रशस्ति-पत्र सम्मिलित रहेको जनाइएको छ।

जीटीएले एउटा आधिकारिक पत्र पठाएर बीएम योञ्जनलाई यसको जानकारी दिएको छ। जीटीएबाट यो पुरस्कारको आधिकारिक -पत्र आउनेबित्तिकै डुवर्समा हर्ष छाएको छ। डुवर्सका विभिन्न सङ्घ-संस्थाहरूले बीएम योञ्जनलाई यस महत्त्वपूर्ण उपलब्धिको निम्ति बधाई दिएका छन् भने डुवर्सका भाषा-सङ्ग्रामीहरूलाई यसरी मूल्याङ्कन गर्ने परम्परा बसाएकोमा जीटीएप्रति आभार प्रकट गरेका छन्।

१ मार्च, १९३४ मा मध्य डुवर्सको दुम्सीपाड़ामा जन्मिएका बीएम योञ्जन डुवर्सका अग्रणी समाजसचेतक हुन्। पचासको दशकमै कलकत्ता विश्वविद्यालयबाट बीएससी अनर्स (एग्रीकल्चर) गरेका योञ्जनले डुवर्सको गोर्खा समाजको उत्थान र प्रगतिमा महत्त्वपूर्ण योगदान दिएका छन्। सन् १९५७ मै कोलकाताको कृषि विभाग अधीन डाइरेक्टोरेटमा उनी प्रथम श्रेणीको अफिसर भएका थिए, जहाँ छ वर्ष काम गरेपछि उनी डुवर्स फर्किएर आए र आफ्नै एग्रो-फरेष्ट्री शुरु गरे।

डुवर्सका नेपालीभाषीहरूको शैक्षिक, भाषिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं जातीय उत्थानका लागि उनले सुदीर्घ कार्य गरेका छन्। डुवर्सका एक अग्रणी बुद्धिजीवीका रूपमा उनले झण्डै सात दशक डुवर्सेली समाजलाई मार्गदर्शन गरे। उनी एक प्रतिबद्ध भाषा-सङ्ग्रामी हुन्। उनी अखिल भारतीय भाषा समितिका केन्द्रिय सदस्य रहेका थिए भने डुवर्स शाखाका अध्यक्ष थिए। यसैगरी, भारतीय नेपाली राष्ट्रीय परिषद्का ५१ केन्द्रिय कार्यकारिणी सदस्यमा उनी मनोनित सदस्य थिए।

नेपाली भाषा आन्दोलनमा उनको लामो अवदान रहेको छ। पूर्व प्रधानमन्त्री मोरारजी देशाईले नेपाली भाषालाई ‘विदेशी भाषा’ भनी लाञ्छना लगाउँदा त्यसको देशव्यापी प्रतिवाद भएको थियो। त्यो प्रतिवादमा डुवर्सले पनि सक्रिय प्रतिवाद जनाएको थियो। ११ दिसम्बर, १९७७ मा भारतव्यापी ‘प्रतिवाद दिवस’-मा डुवर्स नेपाली साहित्य विकास समितिको तर्फबाट कालचिनी थाना प्रभारीलाई प्रतिवादस्वरूप एउटा ज्ञापन सुम्पिएको थियो।

प्रधानमन्त्री मोरारजी देशाई, गृहमन्त्री चरण सिंह, मुख्यमन्त्री ज्योति बासु, संसदीय नेता वाईबी चौहान आदिलाई पठाइएको उक्त पत्रमा हस्ताक्षर गर्ने डुवर्सका आठ भाषा सङ्ग्रामीमध्ये बीएम योञ्जन पनि एक थिए। डुवर्सका जीवित भाषा सङ्ग्रामीहरूमा उनी ज्येष्ठ हुन्। नेपाली भाषा, शिक्षा, साहित्य, संस्कृति अनि सामाजिक उन्नतिका क्षेत्रमा डुवर्समा उनको योगदान अतुलनीय छ। उनी १९७४ मा स्थापित डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिका संस्थापकमध्ये एक हुन्।

एक मूर्धन्य भाषा-सङ्ग्रामीलाई जीटीएले यसरी सम्मानित गर्ने समाचार प्राप्त भएपछि डुवर्सका विभिन्न सङ्घ-संस्थाहरूले यसप्रति हर्ष प्रकट गरेका छन्। डुवर्सको प्रमुख संस्था डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ र महासचिव रविन खवासले यसप्रति खुशी जाहेर गरे। समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले भने, विकास समितिका एक संस्थापक अनि डुवर्सका अग्रणी भाषा-सङ्ग्रामी यसरी जीटीएद्वारा भाषा सेवा सम्मान पुरस्कारद्वारा अलङ्कृत हुनलागेको समाचारले हामीलाई गौरव महसुस भएको छ। डुवर्सका सङ्ग्रामीहरूको कदर नभइरहेको अवस्थामा जीटीएले यसरी हाम्रा मूर्धन्य भाषा-सङ्ग्रामीलाई सम्मान जनाउनु साँच्चै सराहनीय कार्य हो। यसको निम्ति हामी डुवर्सवासीको तर्फबाट जीटीएलाई धन्यवाद दिँदछौँ।

यसैगरी, समितिका महासचिव रविन खवासले पनि यस महत्त्वपूर्ण उपलब्धिको निम्ति बीएम योञ्जनलाई बधाई दिए। उनले भने, डुवर्सको गोर्खा समाज निर्माणमा उनको ठूलो योगदान छ। उनी डुवर्सका अग्रणी बुद्धिजीवी अनि जातीय सचेतक हुन्। भाषा मान्यता आन्दोलनमा उनको योगदान स्तुत्य छ। विकास समितिको एउटा प्रतिनिधि टोली उनको सम्मानमा दार्जीलिङमा आयोजन हुने पुरस्कार समारोहमा उपस्थित हुने पनि जानकारी पाइएको छ।

About Author

Advertisement