झापा: बाघले भैँसी, बाख्रा, चित्तल, हरिण मारेर खाने बाघलाई भैँसीले मारेको सुन्दा आश्चर्य लाग्न सक्छ। मकवानपुरको मनहरीमा यस्तो एउटा अनौठो घटना भएको छ। मनहरी गाउँपालिका ६, प्रतापपुरमा अगष्ट २२ तारिख राति २ बजेतिर आएको एउटा बाघलाई भैँसीले मारिदिएको छ। गोठमै भैँसीलाई आक्रमण गर्न आएको बाघ भैँसीको प्रतिकारमा मरेको हो। बाघको आक्रमणमा परेको घाइते भैँसी घाइते भएको छ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समिति मनहरीका सचिव कमल राईका अनुसार स्थानीय बलबहादुर राईको गोठमा छिरेको बाघले भैंसीको गर्दनमा आक्रमण गरेको देखिन्छ। केही समयअघि मात्रै ब्याएको र पाडो मरेको पीडामा रहेको लैनो भैँसी अलि छुच्छो स्वभावको थियो। मुन्टो हल्लाएर बाघको प्रतिकार गर्यो। बाघलाई झट्कालेर गर्दनबाट हटाएपछि पुन झम्टन सकेन। भैँसीले बाघलाई लात्तीले हान्ने र झम्टिने गरिरह्यो। यद्यपि, भैँसी दाम्लोको बन्धनबाट मुक्त थिएन। भैँसीको प्रतिकारमा परेको बाघले गोठमै ज्यान फाल्यो।
खासमा बाघको स्वास्थ्य अवस्था अत्यन्तै दर्दनाक थियो। उ मुश्किलले मात्रै हिँड्नसक्ने स्थितिमा रहेको अनुमान लगाउन सकिन्छ। बाघ टाउको र पछाडिको फिलामा घाउ भएर कीरा परेको अवस्थामा देखिन्छ। बिरामी भएपछि कैयौँ दिनदेखि खान नपाएको बाघ शिकार खोज्दै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट गाउँ पसेको अनुमान छ। भैँसीको प्रतिकारबाट बाघको शरीरमा रहेको घाउहरुमा दख्खल पर्दा बाघ मरेको स्थानीयको बुझाइ छ। दाम्लोले बाँधिएको भैँसीको गर्दनमा चोटहरु छन्। समितिका सचिव राईले भैँसी जीवितै रहे पनि बाँच्ने अवस्था नरहेको बताउछन।
चितवन राष्ट्रिय निकुञ्जबाट आएको सुरक्षाकर्मी, प्रशासन तथा मेडिकल टिमले घटनास्थल अवलोकन गरी मुचुल्का उठाएर मृत बाघलाई चितवन लगेको छ। राति नै बाघ मरेको खबरपछि पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज दुबैतर्फका प्रशासन र सेनाका अधिकारीहरु घटनास्थलमा पुगेका थिए।
मनहरी गाउँपालिका ६ का वडाध्यक्ष युवराज थपलियाले कालगतिले नै मर्ने अवस्थामा रहेको बाघ घरपालुवा भैँसीलाई खान आएको बेला मरेको कुरामा सबै पक्ष सहमत भएपछि सो बमोजिम मुचुल्का उठाइएको बताए। यद्यपि, उक्त बाघ केही दिनदेखि नै त्यस क्षेत्रमा हिँडिरहेको बताइन्छ। केही दिनअघि गोठालाहरुलाई बाघले आक्रमण गरेको सुनेपछि हात्ती चढेर बाघको खोजी गरिएकोमा बाघ खोला तरेर निकुञ्जतर्फ नै गएको जानकारी मिलेपछि बाघ खोज्ने र नियन्त्रणमा लिने कार्य स्थगन गरिएको समितिका सचिव राईले बताए।