गान्तोक: राज्यका पूर्व विधानसभा सदस्यहरूको सङ्गठन पूर्व विधायक परिसङ्घ, सिक्किमले सन १९७३-को प्रजातान्त्रिक आन्दोलनमा आ-आफ्नो स्तरमा उल्लेखनीय योगदान दिने प्रजातन्त्रका योद्धाहरूलाई “अनसङ्ग हिरो” पुरस्कारले पुरस्कृत गर्ने भएको छ। परिसङ्घका अध्यक्ष डीबी ठटालले आज एउटा पत्रकार सम्मेलन डाकेर यो जानकारी दिएका हुन्। जम्मा सातजना प्रजातन्त्र सङ्ग्रामीहरूलाई आगामी २४ अगस्तको दिन राजधानीको मनन केन्द्रमा आयोजना गरिने पूर्व विधायक परिसङ्घ, सिक्किमको २२औं स्थापना दिवस कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने उनले जानकारी गराए। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहने पनि ठटालले थप जानकारी गराए।
पुरस्कृत हुन गइरहेका प्रजातन्त्र सङ्ग्रामीहरूमा योक्समका मोहन गुरुङ, ही गाउँका चिनकाजी प्रधान, राले खेसेका नीलबहादुर दाहाल उर्फ जनता हलदार, गान्तोकका सानुभाइ मोथे, सिङ्गतामका पूर्णबहादुर ढुङ्गेल, तिन्कीतामका दावा छिरिङ भोटिया र क्यूजिङका सुक छिरिङ शेर्पा रहेका छन्। यी सबै व्यक्तिहरूले प्रजातन्त्रको आन्दोलनमा आ-आफ्नो स्तरमा उल्लेखनीय योगदान पुऱ्याएको परिसङ्घका अध्यक्ष ठटालले बताए। यसकासाथै स्थापना दिवसको अवसरमा जम्मा १३ जना पूर्व विधायकलाई पनि सम्मान जनाइने उनले थप बताए। सम्मानित हुन गइरहेका पूर्व विधायकहरूमा अशोक कुमार सुब्बा, मिङ्गमा छिरिङ शेर्पा, डा. डीपी खरेल, रणबहादुर सुब्बा, गर्जमान गुरुङ, चक्रबहादुर सुब्बा, दलबहादुर गुरुङ, मेनलम लेप्चा, श्रीमती कलावती सुब्बा, रामबहादुर सुब्बा, सोनाम दोर्जी भोटिया, छितेन दोर्जी लेप्चा र ओङ्गदेन छिरिङ लेप्चा रहेका छन्। यस अतिरिक्त उक्त दिनको कार्यक्रममा पूर्व विधायक परिसङ्घ, सिक्किमद्वारा आयोजित अन्तरविद्यालय निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई मुख्य अतिथिको बाहुलीबाट पुरस्कार पनि प्रदान गरिने अध्यक्ष ठटालले थप जानकारी गराए।
राज्यका पूर्व विधायकहरूलाई सङ्गठित गर्दै २६ जुलाई २०२२को दिन पूर्व विधायक परिसङ्घ, सिक्किमको पञ्जीकरण गरिएको थियो। तर, कतिपय कारणवश पछिल्ला तीन वर्षदेखि मात्र परिसङ्घले आफ्नो स्थापना दिवस भव्यतासित पालन गर्न थालेको अध्यक्ष डीबी ठटालले बताए। यसरी पूर्व विधायक परिसङ्घ, सिक्किमले पनि आफ्नो स्थापना दिवस पालन गर्ने सहज वातावरण सिर्जना गरिदिएकोमा उनले राज्यको वर्तमान एसकेएम सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेका छन्। यसकासाथै उनले हिजो मात्र नेपाली भाषामा पनि सरकारी अधिसूचनाहरू जारी गर्ने सिक्किम सरकारको आधिकारिक घोषणाको निम्ति पनि राज्य सरकार र मुख्यमन्त्री तामाङलाई परिसङ्घको पक्षमा धन्यवाद दिए।
पूर्व विधायक परिसङ्घले सिक्किम सरकारको सुनौलो र समृद्ध सिक्किमको परिकल्पनालाई टेवा दिँदै कुनै एउटा गाउँलाई कोख लिने निर्णय लिएको पनि अध्यक्ष डीबी ठटालले आज पत्रकारहरूलाई जानकारी गराए। यस क्रममा यस वर्षको निम्ति उत्तर जिल्लाको कावी लुम्चोक गाउँलाई परिसङ्घले कोख लिएको उनले बताए।