सोनादा: दार्जिलिङ शहरको इडेन कम्पाउण्डमा रहेको दार्जिलिङ जिल्ला अस्पताल अर्थात शहीद मेजर दुर्गा मल्ल जिल्ला अस्पतालको क्षेत्रभित्र रहेको अवैध भवनहरु अनि दोकानहरु भत्काउने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एवं दार्जिलिङ जिल्ला अस्पतालका प्रभारी राजेस चौहानले हिज अस्पतालमा पत्रकारहरुलाई बताए अनुसार दार्जिलिङ जिल्ला अस्पतालको क्षेत्रफल ५ ऐकरभन्दा अधिक रहेको आधिकारिक दस्तावेज छ भने। यहाँ प्रत्येक दिन आउने रोगीहरुको निम्ति ओहोर दोहोर गर्न असुविधा भइरहेको छ भन्दै चौहानले दार्जिलिङ सदर थाना छेउ देब्रेतर्फबाट अस्पताल पुग्ने सडक निर्माण गरिने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले योजना तयार पारेको बताए। जुन सडक निर्माण गर्न सकिए अस्पताल जान अनि आउन अलग अलग मार्गको प्रयोग गर्न सकिए अस्पतालको मूलद्वारमा लागिने जामले मुक्त पाएर रोगिहरुको निम्ति सुविधा हुनेछ। चौहानले अनाधिकृत रुपमा बसोबासो गर्ने सबैलाई अनुरोध गरेर सबैले आफ्नो ठाउँलाई आफै बनाऊ भन्दै अवैध एवं अनाधिकृत रुपले बनाएका घर दोकानहरु हटाइदिने अनुरोध गरेका छन्। जनताको हितार्थ नै अब अस्पतालको छिनिएको जमीन पुन: अस्पताललाई नै फर्काएर जनताको साझा प्रयोगको निम्ति काम ल्याउने पनि चौहानले बताएका छन्। दार्जीलिङ जिल्ला अस्पताललाई सुव्यवस्थित बनाएर रोगीहरुलाई पूर्ण सुविधा दिलाउन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको उद्देश्य रहेकोले नै वर्तमान गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले जिल्ला अस्पतालमा प्रत्येक दिन आफ्नो नजर राखेको छ। टाडा टाडाबाट आउने रोगीहरुको असुविधालाई मध्यनजर राखेर बिहानको खाजादेखि लिएर बेलुकीको खाना अस्पतालबाट नै बन्दोबस्त गरिरहेको अनि खानाको गुणस्तर प्रत्येक दिन जाँच पनि भइरहेको चौहानले बताए। यहाँ अस्पतालमा आउने प्रत्येक रोगीहरुले पनि अस्पतालबाट वितरण गरिने खाना खाइदिने अपिल गरेका छन्। रोगीहरुको उपचार अनि स्वस्थ्यलाई मध्यनजर राखेर अस्पतालभित्रको प्रवेश नियममा केही फेरबदल गरिएको बताउँदै चौहानले सबै आम नागरिकहरुलाइ अपिल गर्दै अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई सहयोग गरिदिने अनुरोध गरेका छन्। यो अस्पताल हामी सबै पहाडवासीको हो भन्दै चौहानले यहाँ आउने सबै आम नागरिकहरुले यहाँ जन सेवामा खटिएका कर्मचारीहरुलाई सहयोग गरिदिने अनि अस्पतालको नियमावलीलाई पालन गरिदिने अनुरोध पनि गरेका छन्।