झापा: कोशी प्रदेशमा मन्त्रालय फुटाएर ११ वटा बनाउने तयारी भएको छ।
नेपाली कांग्रेस र नेकपा एकीकृत मालेको शीर्ष तहमा भएको सहमति अनुसार कोशीमा ९ वटा मन्त्रालयबाट थपेर ११ वटा बनाउने तयारी भएको दुबै दलका नेताहरुले बताएका छन्।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर शहरी विकास मन्त्रालय बनाउने तयारी छ। उद्योग कृषि र सहकारी मन्त्रालयबाट फुटाएर उद्योग मन्त्रालय बनाउने तयारी छ। दुई दलका बीचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन अलग गर्नेबारे पनि छलफल भएको छलफलमा सहभागी नेता निकट स्रोतको भनाइ छ।
कोशीमा सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेस आन्तरिक भागवण्डा नमिलेका कारण सरकारमा सहभागी भएको छैन।
मन्त्रालयको संख्या थप गर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चरणमा छलफल गरिसकेका नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए।