विविधि साहित्यिक कार्यक्रमको साथमा तादोङ व. मा. वि. मा पालन गरियो भाषा मान्यता दिवस

IMG-20240820-WA0297

गान्तोक: यहाँको तादोङ वरिष्ठ माध्यामिक विद्यालयले पनि नेपाली भाषा मान्यता दिवस विविध कार्यक्रमकोसाथमा भव्यतासित पालन गरियो। कार्यक्रममा सिक्किम सरकारको शिक्षा विभागको उच्च शिक्षा एवं प्रविधि शिक्षाका निर्देशक भीम ठटाल मुख्य अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रुपमा पाठ्य पुस्तक अघिकारीगण हिस्से रिन्जिङ भोटिया र भीमहाङ लिम्बू (सेवानिवृत्त) को उपस्थिति रहेको थियो। यसको साथै सीबीएसई बोर्डको भाषा विषयमा उच्च अङ्क प्राप्त गर्ने विद्यार्थीहरू र शिक्षक शिक्षिकाको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमा बाल साहित्य प्रकाशनद्वारा बहुभाषिक सम्सामयिक पत्रिका ‘बाल वाटिका’- को चौथो अङ्कको विमोचन गरियो भने विद्यार्थीहरूले साहित्यिक गोष्ठीको चरणमा नेपाली, लेप्चा, गुरुङ, तामाङ, भोटिया, हिन्दी आदि भाषामा रचेका कविता पाठ गरे। यसरी नै शिक्षक डा. एचपी सुबेदी, शिक्षिका सवित्री भण्डारी र भारती लेप्चाले पनि कविता पाठ गरे। यसको साथै कार्यक्रमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरे।
कार्यक्रमको अर्को चरणमा विशिष्ठ अतिथिगण एवं वरिष्ठ पाठ्य पुस्तक अधिकारी हिस्से रिन्जिङ भोटिया र भीमहाङ लिम्बू (सेवानिवृत्त)-लाई उनीहरूको उहाँहरूले क्रमैले भोटिया र लिम्बू भाषाको पाठ्य पुस्तक सम्पादन एवम् साहित्य – संस्कृति विकास र सम्वर्द्धप्रति दिएको योगदानको कदर गर्दै सम्मान एवं अभिनन्दन जनाइयो।
सन् २०२४ को कक्षा बाह्रको बोर्ड परीक्षाको नेपाली विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने सुश्री सञ्जली राईलाई नेपाली भाषाका शिक्षक त्रिभुवन ढकालद्वारा गठन एवं प्रायोजन गरिएको ‘रघुनाथ-भिमेश्वरी ढकाल स्मृति’ पुरस्कार प्रदान गरियो। यसरी नै कक्षा बाह्रको लेप्चा विषयको ज्ञानमित लेप्चा, भोटियाको छिजुम भोटिया, हिन्दीको प्रणम थापा, अंग्रेजीको अदित्य बर्मन र कक्षा दसको नेपाली विषयमा काडेन तामाङ र डिकी डोमा भोटियालाई सम्बन्धित भाषा शिक्षक-शिक्षिकाहरूको सौजन्यमा नगद राशी, स्मृति चिह्न एवम् प्रमाण पत्र प्रदान गरियो ।
मुख्य अतिथिको आसनवाट बोल्दै निर्देशक भीम ठटालले विद्यालय परिवारलाई धन्यवाद दिँदै भारतीय नेपाली भाषाको ऐतिहासिक तथ्य, नेपाली भाषा मान्यतामा पश्चिम बंगाल र सिक्किमको भूमिका, साहित्य र भाषा बीचको पार्थक्य, नेपाली व्यकरणका तत्वहरू, वाक्य गठन र सरल भाषाको प्रयोग आदि विषयमा प्रकाश पारे। यसरी नै विद्यालयकी प्राचार्य श्रीमती संगीता खड्काले आयोजक पक्षको तरफबाट सबैलाई धन्यवाद दिँदै नेपाली भाषा मान्यता दिवस् मनाउनुको उद्देश्य विद्यार्थीहरूलाई आ-आफ्नो मातृभाषा पढ़्न प्रोत्साहित गर्नु बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement