गेजिङ: भारत सरकारको महत्वाकांक्षी योजना पीएम विश्वकर्म योजनामाथि एक दिवसीय कार्यशाला गेजिङ जिल्लाअन्तर्गत योक्समको ग्राम प्रशासनिक केन्द्रमा सम्पन्न भयो। कार्यशालाको आयोजना राज्यस्तरीय ब्याङ्कर कमिटी, सिक्किमले भारत सरकारको एमएसएमई-सितको सहकार्यमा आयोजना गरेको थियो। कार्यक्रममा गेजिङका जिल्ला अध्यक्ष डीएस लिम्बू मुख्य अतिथि रहेका थिए भने १५० भन्दा अधिकले कार्यशालामा सहभागिता जनाएका थिए।
उल्लेखनीय छ, पीएम विश्वकर्म योजना कलाकार अनि शिल्पकारहरूलाई प्रोत्साहन गर्ने भारत सरकारको एउटा ध्वजवाहक कार्यक्रम हो। यस योजनाले लोहार, सुनार, कुम्हाले, सिकर्मी अनि अन्य परम्परागत शिल्पको व्यवसायमा संलग्न उद्यमीहरूलाई लक्ष्य गरेर प्रशिक्षण, प्रविधि पहुँच, आर्थिक सहयोग तथा बजार व्यवस्थापनमा सहयोग गर्नेगर्छ। कार्यक्रममा स्रोतवक्ताको रुपमा उपस्थित राज्यस्तरीय ब्याङ्कर कमिटी, सिक्किमका प्रतिनिधिहरूले पीएम विश्वकर्मा योजनाबारे विस्तृत रुपमा जानकारी गराए। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष डीएस लिम्बूले क्षेत्रवासी सा-साना उद्यमीहरूको हितमा यसरी कार्यशाला आयोजना गरेकोमा राज्यस्तरीय ब्याङ्कर्स कमिटी, सिक्किमलाई धन्यवाद दिए। यसको साथै उनले कार्यशालामा सहभागी स्थानीयवासीहरूलाई यस योजनाबाट सक्दो लाभ उठाउने आह्वान पनि गरे।










