कालेबुङ: कालेबुङको सप्तश्री ज्ञानपीठ लगातार दोस्रोपल्ट अण्डर-१९ एहलिस कप फूटबल टुर्नामेण्टमा च्याम्पियन भयो। सप्तश्री ज्ञानपीठको टीमले क्वार्टर फाइनलमा खरसाङको सेण्ट एन्थोनी स्कूललाई ५-०-ले, सेमिफाइनलमा दार्जीलिङको वेष्ट पोइण्ट स्कूललाई ५-०-ले अनि फाइनलमा खरसाङको हिमाली बोर्डिंग स्कूललाई ३-०-ले पराजित गऱ्यो। यसरी च्याम्पियन टीमले क्वार्टर फाइनलदेखि जम्मा १४ गोल गरेर आफ्नो क्षमता देखायो। च्याम्पियन टीमका प्रयास सुन्दासलाई टाटा फूटबल एकाडमीको निम्ति चयन गरियो। यसमा पूर्व फूटबलर श्याम लामाको ठूलो भूमिका रह्यो। यसरी अर्पण छेत्रीले प्लेयर अव् द टुर्नामेण्टको खिताब जिते। सप्तश्री ज्ञानपीठको टीमले बबलू गुप्ताको प्रशिक्षण र यश खड़्काको प्रबन्धनमा गत केही सालदेखि फूटबलमा निरन्तर असल प्रदर्शन गर्दै आइरहेको छ।









