मंगलबारेमा ३३औं नेपाली भाषा मान्यता दिवस पालन

IMG-20240717-WA0001

सोरेङ: स्फुरण साहित्य प्रकाशन, एसएल दाउ ग्याछो काजी वरिष्ठ माध्यमिक विद्यालय अनि नेपाली भाषा मान्यता दिवस समारोह समिति, मंगलबारेको संयुक्त तत्वावधानमा आज ३३औं नेपाली भाषा मान्यता दिवस पालन गरियो। उक्त कार्यक्रमको अध्यक्षता “कस्तुरी’’-का सम्पादक एवं सामाजिक अभियन्ता आर.के. वालिङले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आरके वालिङले २० अगस्त सन् १९९२-मा भारतीय संविधानको आठौं अनुसूची अन्तर्गत नेपाली भाषाले मान्यता पाएको क्षणलाई स्मरण गर्दै सर्वभारतीय नेपालीहरूको निम्ति सो उपलब्धि ऐतिहासिक रहेको बताए। नेपाली भाषाले मान्यता पाएको इतिहासलाई हामीले गम्भीरतापूर्वक अध्ययन गऱ्यौं भने सर्वभारतीय स्तरमा नेपालीभाषीहरू एकताको सूत्रमा बाँधिएर कुनै पनि समस्याको समाधानतर्फ पहल गरे निश्चित रूपमा फत्ते गर्न सकिन्छ भन्ने सार पाउनेछौँ, वालिङले भने। प्रतिवर्ष यसरी नेपाली भाषा मान्यता दिवस समारोह आयोजन गर्न जाति अनि संस्कृति संरक्षण र सम्वर्द्धनको दिशामा महत् रहेको उनले मन्तव्य पोखे। यस्तो महत् कार्यक्रम आयोजन गरेकोमा उनले आयोजक समितिलाई धन्यवाद दिँदै यसलाई निरन्तरता दिनुपर्ने कुरामाथि जोर दिए।
आजको कार्यक्रममा नेपाली भाषासँगै लिम्बू, मगर, राई, भोटिया, लेप्चा, तामाङ र गुरुङ भाषामा अन्तरविद्यालय कविता अनि हाजिरी जवाफ प्रतियोगिता आयोजन गरिएको थियो। यी प्रतियोगिताहरूमा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। योसँगै कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा नृत्य प्रस्तुत गरियो। स्फुरण साहित्य प्रकाशन मंगलबारेका अध्यक्ष वीरबहादुर गुरुङले स्वागत सम्बोधनमा नेपाली भाषा मान्यतासँगै स्फुरण साहित्य प्रकाशनको गतिविधिबारे आफ्नो विचार साझा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement