४,६४५ मिटरको उचाइमा गल्फ प्रतियोगिता सम्पन्न

IMG-20240818-WA0235

झापा: मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा तेस्रो संस्करणको गल्फ कोर्स प्रतियोगिता सम्पन्न भएको छ। समुद्री सतहदेखि चार हजार ६ सय ४५ मिटरको उचाइमा गल्फ प्रतियोगिता गरिएको आयोजकले जनाएका छन्। लोमान्थाङको पर्यटन प्रवद्र्धनका लागि विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता आयोजना गरिएको हो।
विश्वकै उच्चतम गल्फ कोर्समार्फत लोमान्थाङको पर्यटन प्रवद्र्धन गर्नु मुख्य उद्देश्य भएको मुस्ताङ गल्फ कोर्सका व्यवस्थापक इन्द्रधारा विष्टले बताए।
प्रतियोगितामा आयोजक समेत रहनुभएका इन्द्रधारा विष्टले टप अफ दि वल्र्ड गल्फ क्लासिकको उपाधि जितेका छन्। स्टेवल फोर्ड फूल हण्डिक्यापको फम्रयाटमा खेलाइएको ९ होलको खेलमा विष्टले ३ हन्डर हान्दै २१ स्कोर जित्नुभएको थियो। ३ वटा होलमा पार,एउटामा त्रिपल बुगी र ५ वटा होलमा बुगी खेल्दै विष्टले उपाधि हासिल गरे।
प्रतियोगितामा नेपाल गल्फ एसोसिएनका उपाध्यक्ष समेत रहेका फुर्साङ लामा दोस्रो भए। उनले ५ वटा होलमा पार,एउटामा डबल बुगी र बाँकी ३ वटामा बुगी हिर्काउदै २ अन्डर २० को स्कोर प्राप्त गरे। पुरुष तर्फको ग्रस उपाधि गैर आवासीय नेपाल संघ अमेरिकाबाट प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले हात पारे। उनले १४ स्कोर सहित ग्रस उपाधि हासिल गरे।
श्रेष्ठले तेस्रो होलको पार थ्रिमा बर्डी हिर्काए भने ४ वटा होलमा पार,एउटा होलमा डवल बुगी र बाँकी ३ होलमा बुगी हिर्काएको प्रतियोगिताका सदस्य भुवन गुरुङले जानकारी दिए।
यसैगरी, महिला तर्फ पोखराकी बालकाशी गुरुङले उपाधि जितिन्। उनिले ५ अन्डर २३ को स्कोर प्राप्त गरिन्। प्रतियोगितामा धरानकी झुना राई दोस्रो भइन्। विजेता खेलाडीहरुलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले पुरस्कार र ट्रफी वितरण गरेका छन्।
प्रतियोगितामा होल नम्बर ३ मा होल इन वन गर्ने खेलाडीलाई याक प्रदान गर्ने भनिएपनि कसैले जित हासिल गर्न सकेनन्।
आगामी दिनहरुमा मुस्ताङ गल्फ कोर्सलाई विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्सको रुपमा प्रचार गर्न समेत यसपटको प्रतियोगिताले सहयोग पुगेको व्यवस्थापक इन्द्रधारा विष्टले विश्वास व्यक्त गरे। प्रतियोगितालाई आगमी दिनमा पनि निरन्तरता दिने उनले बताए।
प्रतियोगिताका वारेमा संसारभर प्रचारप्रसार गरेर विदेशी खेलाडीहरुलाई पनि आकर्षित गर्ने योजना रहेको उनले जानकारी दिए। गल्फ प्रतियोगितामा आएका खेलाडी र पर्यटकहरुलाई लोमान्थाङमा स्वागत गर्न पाउँदा खुसी गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए। गल्फ प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा ठूला टेवा पुगेको उनले आशा व्यक्त गरे। (तस्बिर: देशबन्धु क्षेत्री)

About Author

Advertisement