सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, जोरबङ्लो सुकेपोखरी खण्ड पञ्चायत समिति अनि ग्राम पञ्चायतहरुको संयुक्त आयोजना अनि जोरबङ्लो सुकेपोखरी खण्ड विकास कार्यालयको सहयोगमा शनिवारदेखि “तपाईको आँगनमा प्रशासन” कार्यक्रमको शुरुवात भएको छ। १६ वटा ग्राम पञ्चायतहरुको विभिन्न गाउँहरुमा महिनाको दुई शनिवार हुने “तपाईको आँगनमा प्रशासन” कार्यक्रम शनिवार प्रथममा अप्पर सोनादा ग्राम पञ्चायत अन्तर्गत प्रशान्ति ग्राममा सम्पन्न भयो। यस कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेश चौहान, पञ्चायत समिति सभापति सोना डोमा डुक्पा, खण्ड विकास अधिकारी, संयुक्त खण्ड विकास अधिकारी, पञ्चायत समितिका सदस्य/सदस्याहरू, ग्राम पञ्चायतका सदस्य/सदस्यावर्ग लगायत स्थानीय जनमानसहरुको उपस्थिति रहेको थियो। डेपुटी चोयरम्यान राजेश चौहानले जनमानस आफ्नो समस्या समाधानको निम्ति अफिसतिर दौडधुप गर्न नपरोस् भनी स्थानीय सरकारहरुले आफ्नै घर आँगनमा नै समस्याको समाधान हुनुपर्छ भनेर नै यो कार्यक्रम शुरु गरेको बताएका छन्।

चौहानले खण्ड अन्तर्गत रहेका विभिन्न विभागका अधिकारीहरुलाई पनि यो कार्यक्रममा समावेस गरेर जनमानसको समस्या समाधान हेतु तपाईको आँगनमा प्रशासन कार्यक्रम शुरु गरिएको बताएका छन्।









