फुलबारी: सिलगढीका एक बासिन्दा आफ्ना साथीहरूसँग टोटोमा यात्रा गर्ने क्रममा रहस्यमय रूपमा बेपत्ता भएका छन्। चार दिन बितिसक्दा पनि रहस्यमय ढंगले बेपत्ता भएका व्यक्तिको कुनै सुराग फेला परेको छैन। बेपत्ता हुनेको नाम गौतम दास (३७) हो। उनी सिलगढीको वार्ड नम्बर २० को दुर्गादास कालोनी क्षेत्रका बासिन्दा हुन्। एनजेपी पुलिस थानाको पुलिस र विपद् व्यवस्थापन टोलीले शनिबार फुलबारी टिस्टा नहरमा व्यक्तिको खोजी गरेको थियो। पारिवारिक स्रोतका अनुसार गत बुधबार दिउँसो सिलगढीको दुर्गादास कोलोनीका निवासी गौतम दाससहित छ जना साथीहरू टोटोमा सँगै गएका थिए। केही समयपछि गौतमले श्रीमतीलाई फोन गरेर आफ्ना दुई साथीले कुटपिट गरेको बताए। त्यसको केही समयपछि गौतमको फोन स्वीच अफ भयो। साँझसम्म पनि घर नफर्केपछि परिवारले एनजेपी पुलिस थानामा उजुरी दिएका थिए। उजुरीका आधारमा पुलिसले घटनाको अनुसन्धान गरी उनका पाँच जना साथीलाई पक्राउ गरेको थियो। सोही क्रममा आज पुलिस र विपद् व्यवस्थापन टोलीले बेपत्ता गौतमको फुलबारी टिष्टा नहरमा खोजी गरेको थियो।









