झापा: कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ। अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा जुलाई ३१ देखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाइरहेको बताए।
महामारीका कारण भैरहवा र वीरगन्ज नाकामार्फत भारत प्रवेश गर्दै आएका पर्यटक अहिले भारतसँग जोडिएका सात वटै नाकाबाट सहज रूपमा प्रवेश पाइरहेको उनले बताएका छन्। “पर्यटकको आवागमनमा कुनै अवरोध नभएपछि नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा समेत बढोत्तरी हुने अपेक्षा लिएका छौँ,” उनले भने।
अध्यागमन विभागले चीनतर्फबाट समेत पर्यटक आवागमन सहज बनाउन मुस्ताङको कोरला र ताप्लेजुङको टिपताला नाकामा अध्यागमन कार्यालयको स्थापना गर्न लागेको उनले जानकारी दिए। हाल सञ्चालनमा रहेका तातोपानी, तिमुरबोटे र हिल्सा नाकाबाट पर्यटन आवागमनमा कुनै समस्या नरहेको उनले प्रस्ट पारेका छन्।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले तेस्रो देशका पर्यटकले नेपालका सबै नाकाबाट सहज रूपमा आवतजावत गर्न पाउने भएपछि भारतीय ट्राभल एजेन्सीले नेपाल पठाउने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने विश्वास व्यक्त गरे। “समग्रमा पूर्वबाट नेपाल प्रवेश गरेका पर्यटकपश्चिमका कुनै पनि नाकाबाट बाहिरिँदा पर्यटकीय गतिविधि बढ्ने उनले बताए।
गृहमन्त्री रमेश लेखकले भारतीय राजदूत नवीनकुमार श्रीवास्तवको शिष्टाचार भेटका क्रममा भारतसित जोडिएका नाकाबाट भारत प्रवेश गर्न तेस्रो देशका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा भएको छलफलपछि उक्त अवरोध हटेको गृह मन्त्रालयले जनाएको छ।
भारतीय पक्षले जुलाईको चौथो सातादेखि नै अध्यागमन सेवामा गरेको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि अहिले झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएका कारणबाहेक भारतसित जोडिएका देश अरू सबै नाकाबाट पर्यटक आवागमन सहज भइसकेको छ।
भारतीय पक्षले कोरोनाका बेला सन् २०२१ डिसेम्बर २० तारिखदेखि पाँच वटा नाकामा तेस्रो देशका नागरिकलाई अध्यागमन सेवामा अवरोध गरेको थियो।