झापा: नेपालभरि विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
गत आर्थिक वर्ष २०२३/२०२४ सम्ममा ४००, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ ६ हजार ५०७ सर्किट किलोमिटर पुगेको छ।
कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार १३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५१४ सर्किट किलोमिटर छ। चार सय केभी प्रसारण लाइन ६४४ सर्किट किलोमिटर छ। आर्थिक वर्ष २०१५/२०१६ सम्ममा दुई हजार ९११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो। आर्थिक वर्ष २०१६/२०१७ मा ३ हजार ३६४, आर्थिक वर्ष २०१७/२०१८ मा ३ हजार ५६८, २०१८/२०१९ मा तीन हजार ९९० र आर्थिक वर्ष २०१९/२०२० मा ४ हजार २६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो। त्यस्तै २०२०/२०२१ मा ४ हजार ८७४, २०२१/२०२२ मा ५ हजार ३२९ र २०२२/२०२३ मा ५ हजार ७४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो।
प्राधिकरणका अनुसार ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभिए पुगेको छ। आर्थिक वर्ष २०१५/२०१६ मा दुई हजार २२३ एमभिए मात्र रहेको ग्रिड१ सबस्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो। यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसन रहेका छन्।
प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार, प्राधिकरण र विकास साझेदार निकायबाट सहुलितपूर्ण ऋण लिएर लगानी भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारेको बताए। “स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ,” घिसिङले भने।
बुटवलबाट पश्चिम अत्तरियासम्म चार सय केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टर भएर जाने दक्षिण कोरिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको घिसिङले जानकारी दिए।
देशका प्रमुख सहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको उहाँले उल्लेख गरे।
ग्रिड सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ केभी र चार सय भोल्टका वितरण लाइन सञ्जाल दुई लाख नौ हजार सर्किट किलोमिटर पुगेको छ। आव २०१५/२०१६ सम्ममा वितरण लाइन एक लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो। त्यतिबेला 58 प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ। कुल वितरण लाइनमध्ये सबैभन्दा बढी चार सय भोल्टको वितरण लाइन एक लाख ५० हजार सर्किट किलोमिटर रहेको छ। वितरणतर्फको सबस्टेसनको क्षमता दुई हजार पाँच सय एमभिए पुगेको प्राधिकरणले जनाएको छ। वितरण सबस्टेसनको सङ्ख्या १९६ वटा छ। आठ वर्षअघि सबस्टेसनको सङ्ख्या ८० वटा मात्र थियो। क्षमता ६४० एमभिए मात्र थियो।
भारतसँगको विद्युत् व्यापारका लागि करिब दुई सय हजार पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ। यता नेपाल–भारतबिचको विद्युत् आयात निर्यातका लागि आठ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब दई हजार मेगावाट पुगेको छ। इनरुवा–पूर्णिया र लम्की–बरेली चार सय केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन्। साथै नेपाल र भारतबिच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ। नेपाल, भारत र बङ्गलादेशबिचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमनीसम्म चार सय केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ।
यसरी सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ। छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइनअगाडि बढाइएको छ।










