सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा गत सालको उपविजेता सिलगढ़ी युनाइटेडले मजुआ फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट यांगदेन लामाले २१औं र पियुष ठाकुरीले ८०औं मिनटमा गोल गरे। आफ्नो टीमलाई एकाधिक गोल खानबाट बचाउने विजेता टीमका गोलकीपर रोमेन रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई २ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। अब बिहीवार खेलिने फाइनल म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लब र मनजीत इलेभेनबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।









