गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप) ले राज्य सरकारको वित्त वर्ष २०२४-२५ को साधरण बजटलाई ऋणको भारी बताएको छ। पार्टीका प्रमुख समन्वयक गणेश राईले आज एउटा पत्रकार सम्मेलन डाकेर एसकेएम सरकारको छैटौं अनि दोस्रो कार्यकालको पहिलो बजटको आलोचना गरे। एसकेएम सरकारले पाँच वर्षमा सिक्किम राज्यलाई कतिसम्म ऋणमा डुबाएको छ भन्ने कुरा सरकारको यस वर्षको बजटले प्रमाणित गरेको छ, उनले भने। उल्लेखनीय छ, राज्य विधानसभाको ४ दिने बजट अधिवेशन आज मात्र समाप्त भएको छ। बजट अधिवेशनको पहिलो दिन मुख्यमन्त्री तथा प्रभारी वित्त मन्त्री प्रेमसिंह तामाङले प्रस्तुत गरेको १४४९०.६७ करोड़को बजटलाई आज अन्तिम दिनको सदनले अनुमोदन गऱ्यो।
गणेश राईकाअनुसार यस वर्ष पनि एसकेएम सरकारले निराशाजनक बजट नै प्रस्तुत गरेको छ। यस पालिको बजटले पनि खालि सिक्किमवासीलाई ऋणको भारि बोकाएको छ। पाँच वर्षमा एसकेएम सरकारले सिक्किमलाई ऋणमा डुबाको यस बजटले प्रमाणित गरेको छ, उनले भने। राईको भनाइअनुसार वर्ष २०१८-१९ मा सिक्किमको बजट ६९४० करोड़ थियो जुन पाँच वर्षमा बड़ेक १४ हजार करोड़भन्दा अधिक भएको छ। पाँच वर्षमा सरकारले बजट ७१०६ करोड़ अधिक बड़ाएको अर्थात २०१८-१९मा भन्दा यस वर्ष सरकारले ७१०६ करोड़ रुपियाँ खर्च गर्ने उनले बताए। तर, खर्च गरिएअनुसार राज्यमा विकास भने नभएको उनको भनाइ रहेको छ।
यस वर्षको बजटमा सरकारले ३२७५ करोड़ रुपियाँ ऋण लिने कुरा बजटमा उल्लेख गरिएको बताउँदै गणेश राईले यस वर्षको बजटलाई ऋणको भारी बताएका हुन्। अवकाशप्राप्त कर्मचारीहरूलाई पेन्सनको लागिसमेत सरकारले ऋण लिएको उनले बताए। प्रति व्यक्ति आयमा सिक्किम हाल देशकै सबैभन्दा अब्बल राज्य बनेको तर वस्ताविकता भने त्यसको उल्टा रहेको राईले ठोकुवा गरे। उनको भनाइअनुसार अहिले राज्यको विशेष गरेर ग्रामीण क्षेत्रमा पैसा छैन। व्यापर-धन्धा चलेको छैन। देशलाई देखाइएको विकास के साँच्चै सिक्किमे जनतासम्म पुगेको छ के भन्दै उनले प्रश्न तेर्साएका छन्।
गणेश राईले बताएअनुसार एसकेएम पार्टीले सरकार जिम्मा लिँदा केवल ६५०७ करोड़ ऋण थियो। तर, सरकारले कवितेको पाँच वर्षमा १५,८७३ करोड़को ऋण लिएको छ। यति धेरै ऋण लिएपछि सिक्किमको विकास भएर जानुपर्ने हो, बेरोजगारी हटेर जानुपर्ने तर त्यस्तो भएको छैन। उनले भने, ऋणमुक्त सिक्किम बनाउछु भनेर आएको सरकारले पाँचै वर्षमा १५,८७३ करोड़को ऋण लिएको छ। अर्कोतिर सरकारले विभिन्न प्राइवेट अन्डरटेकिङलाई ग्यारेन्टी दिएर पनि ४३२१ करोड़को ऋण लिएको छ। यसरी पाँच वर्षमा लिएको जम्मा ऋण १६,७३९ करोड़ पुगेको छ भने प्रत्येक वर्ष सिक्किमलाई ३३४७ करोड़को ऋणमा डुबाएको छ। यसै दरमा ऋण लिइरह्यो भने सिक्किमको ऋण ५० हजार करोड़भन्दा अधिक हुनेछ। यो सिक्किमको लागि चिन्ताको विषय हो। सरकारले राम्रो काम गरेको भए यति धेरै ऋण लिनुपर्ने थिएन। यसको अर्थ सरकार सही मार्गमा छैन।