भारतीय नेपाली पत्रकार संघको पुनर्गठनको पहल

WhatsApp-Image-2024-08-07-at-09.30.58

 राष्ट्रिय स्तरमा भारतीय नेपाली पत्रकारहरूको भूमिका

भनिन्छ- कलियुगे संघ शक्ति, अर्थात् कलियुगमा संघको शक्ति हुन्छ। अहिले वैश्वीकरणको युग गैर सरकारी प्रतिष्ठान वा नन् गर्मेन्टल अर्गनाइजेसन् र सघं- संस्थाहरूको हो भन्ने पनि ठानिन्छ।सॉंच्चै आजको परिवर्तनशील समयमा पत्रकारिताको क्षेत्रमा पनि संघको ठूलो महत्त्व रहेको छl सिंगो व्यक्ति वा एक्लो पत्रकारले मात्र समाज परिवर्तन र पत्रकारिताको भूमिका निर्वाह गर्न सक्दछ भन्ने सोचु सायद गलत् हुन जानेछl कारण आजको यो चुनौतीपूर्ण विश्वमा पत्रकारहरू संगठित भएर एउटै उद्देश्यमा अघि बढ़न सकेनन् भने निश्चय आफ्नो मिसन् वा अभियानको परिपूर्ति हुन सक्दैन।

राष्ट्रको चौथो अंग वा फोर्थ स्टेट मानिएको पत्रकारको भूमिका अहम् भएकैले आज समाज, राज्य , राष्ट्र एवं विश्वकै निम्ति यस्तो चुनौती वा प्रतिस्पर्द्धाको युगमा सॉंच्चै नै साह्रै नै संवेदनशील भएर, सतर्क रहेर अनि फेरि जागरुक र साहसिलो पनि भएर, भनौं सबै गुणहरूको समन्वय र तादात्मयता मिलाएर पत्रकारहरूले आफ्नो गहन दायित्व निर्वाह गर्ने समय आएको छ। आज विश्वको आतंकवाद र धार्मिक कट्टरवाद, जातिवाद जस्ता संक्रमक रोगहरू पत्रकारहरूका निमित्त पनि चुनौतीको पहाड भएर उभिएको छ। आफ्नो निष्पक्ष भूमिका र साहसिलो कदम चाल्दा चाल्दै पनि डानियल पर्ल जस्ता कैयन् पत्रकारहरू आतंकवादको शिकार भएका छन्। यो पक्ष एउटा हो, तर भारतीय स्तरमा नै नेपाली भाषी पत्रकारहरूको संगठन, भूमिका र तादात्मताको अहिले पनि आवश्यक रहेको छ।

भारतीय नेपाली पत्रकारहरूको संगठनको खाँचो छ भन्ने कुरामा दार्जीलिङका विद्वान, भाषाप्रेमी पत्रकारहरूले पहल गरेका थिए, नेपाली भाषाको मान्यताको संघर्षमा जसरी सारा भाषाप्रेमी संग्रामीहरू एक समय ओर्लेका थिए, उचित प्रचार प्रसार नहुँदा नै अखिल भारतीय नेपाली पत्रकार संघ सन् १९७७ मा दार्जीलिङको जनज्योति कार्यालय अर्थात दीयो पत्रिका प्रकाशन् सम्पादनमा सम्पन्न भएको थियो।

दार्जीलिङ क्षेत्रमा प्रेस एसोसिएसन अफ दार्जीलिङ वा प्याड पनि यस्तै शीर्षस्थ संस्थाको भूमिका खेलेर प्रेस क्लब अफ सिक्किमसित तादात्मयता मिलाएर विगतमा काम गर्नु गरेको थियो’

श्री एल.बी.राई, ,सम्पादक दीयोको कार्यालयमा भएको बैठकमा अखिल भारतीय नेपाली पत्रकार संघको गठन गरियो, जसमा संयोजक श्री भरत यादव, सम्पादक हिमालोक, डाइजेस्ट पत्रिका, श्री रामलाल अधिकारी, हाम्रो अस्तित्वका सम्पादक श्री चन्द्र शर्मा, बी.बी. चामलिङ, कालेबुङका प्रशान्त धमला, श्री असीत राई, गोपी प्रधान, प्रेम प्रधान, बुध्द संगम, श्री युवाराज काफ्ले, सिलगढी. विजय बान्तवा, कृष्णराज घतानी, कृष्ण खडका, जीत रैका, मनबहादुर मुखिया लगायत अन्य १७ जना विभिन्न साहित्यिक पत्रकारिता र समाचार पत्रकारितासित संलग्न सम्पादक, पत्रकारहरूको उपस्थिति थियो। सर्वसम्मतिले पारित गरे अनुसार  कार्यकारी समितिको गठन गरियो, जसलाई भरत यादव, श्री रामलाल अधिकारी, एल.बी.राई प्रवृतिले नेतृत्व दिएका थिए।विधान र कतिपय आवश्यक कार्यहरू गर्ने र आगामी बैठकहरू गर्दै भारतभरिबाट नेपाली पत्रकारहरूलाई एक गराउने प्रस्तावहरू पारित गरिए अनि सोही अनुरुप कार्यहरू अघि बढाएर लगिन्दै थियो। त्यसबेला नेपाली भाषाको मान्यताको आवाज जोरतोरले दार्जीलिङबाट चलिरहेको थियो, त्यसैलाई समर्थन दिनु पनि यो पत्रकार संगठनको खाँचो महसूस गरिएको थियो।अखिल भारतीय नेपाली पत्रकार संघको पक्षमा यस पंक्तिकारले सिक्किमको मुख्यमन्त्रीलाई खुल्ला पत्र शीर्षकमा अब एउटा राज्य भएको र बहुसंख्यक नेपाली भाषी राज्य भएकोले सिक्किमले नै नेपाली भाषाको मान्यताको लागि नेतृत्व दिनु पर्छ भनेर कम्युनिस्ट पार्टीको मुखपत्र अग्रदूतमा एउटा याचना पत्र प्रकाशित गरिएको थियो। त्यसबेला श्री ल्हेन्डुप दोर्जी काजी खाङसार्पा वा छोटकारीमा एल.डी. काजी सिक्किमका मुख्यमन्त्री थिए। पछि काजीकै कार्यकालमा दार्जीलिङबाट साहित्य र भाषासित सम्बन्धित, पत्रकारितासित सम्बन्धित विद्वानहरू सिक्किममा आएर सिक्किम सरकारसित विशेष विधानसभामा त्तत्कालीन अध्यक्ष श्री बी.बी.गुरुङ र अन्य मन्त्रीहरूसित भेट गरे सन् १९७८ मा। शिष्टमण्डलीमा आई.बी.राई, एनोसदास प्रधान, हरेन आले, प्रेम थापा प्रवृति नेपाली भाषा समितिका व्यक्तिहरू थिए। गान्तोकको बीच टिब्बट रोड र लालबजार जाने मूल सडकको भित्तामा बनाइको मञ्चबाट पहिलो चोटि बी.बी. गुरुङ, सिक्किम विधानसभाका त्तत्कालीन अध्यक्षले नेपाली भाषाको समर्थन गर्दै भाषण गुञ्जायमान गरे, सिक्किमबाट खुलस्तरुपमा यसरी नेपाली भाषाको मान्यताको लागि समर्थन मिलेकोले दार्जीलिङका ती शिष्ट मण्डल प्रसन्न थिए।यसरी नेपाली भाषाको मान्यताको सफलता पछिबाट पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी र पूर्व सांसद दिलकुमारी भण्डारीको नेतृत्वमा सारा भारतीय नेपालीहरूलाई साथ लिएर प्राप्त हुनुसकेको हो।

आज सिक्किम दार्जीलिङ, असम देहरादुन, दिल्ली, मणिपुर, मिजौराम, उतराञ्चलमा बसोबासो गर्ने  नेपाली भाषी पत्रकारहरूले विविध प्रकारको कठीनाईहरू आफ्नै सामर्थ्यमा सामना गर्दै आएका छन्। भारतीय नेपाली राष्ट्रीय परिषद्, भारतीय गोर्खा परिसंघ आदि गठन भएता पनि धेरै वटा विसंगतिहरूबाट भारतीय नेपालीहरू एक्कै मंचमा उभेर एकताको आवाजमा आफ्नो अधिकारको लागि उठ्नु अझ पनि सठीक प्रकारले सक्षम बनेको छैन। भानेराप त आफ्नो अभियान पूरा गरेर बन्द नै भयो, तर भागोप पनि कतिय कारणले धेरै माथि उठ्नु सकिरहेको छैन। सामाजिक राजनीति तथा आर्थिकरुपले सम्पन्न गराउन तथा सचेत बनाउनुको लागि भारतीय स्तरमा विशेष गरेर बुद्धिजीवि र पत्रकारहरू नै सचेत हुनु आवश्यक छ। यसैले भरत यादव, एल.बी.राई प्रवृतिले सन् १९७७ मा दार्जीलिङबाट शुरु गरेको अखिल भारतीय नेपाली पत्रकार संघको पुर्नस्थापना गर्नु आजको अत्यन्त आवश्यक छ। अनेक विसंगतिहरूलाई गर्दा आ-आफ्नो क्षेत्रमा भारतभरि छरिएर बसेका बुद्धिजीवि पत्रकारहरूको आपसी तालमेल र समन्वय हुनु अति नै अपरिहार्य छ वर्तमान परिप्रेक्ष्यमा। जसरी नेपाली भाषालाई मान्यता दिलाउने काममा सिक्किमको अग्रणी भूमिका रहेको छ, सोही प्रकारले सिक्किमले भारतीय नेपाली पत्रकार संघलाई पुनर्स्थापना गर्ने काममा पत्रकारिता र मिडियालाई सक्दो प्रोत्साहन दिने तथा सकारात्मक विचारधाराका वर्तमान सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिहं तामाङ गोलेको पूर्ण सहयोगितामा यो कार्य सफल पार्नु सकिन्छ।फगत उच्च विशाल र सिध्दान्तमा उभिएका सिक्किमका वरिष्ठ त नयाँ पत्रकारहरूले अखिल भारतीय नेपाली पत्रकारहरूका जीवित संस्थापकहरूसित सर-सल्लाह गरेर यो काम गर्नु आवश्यक छ। 

देशमा पत्रकारहरूको हित र सुरक्षाका निम्ति प्रेस काउन्सिल अफ इण्डियाको गठन गरिएको छ भने कानूर र संविधानले पनि पत्रकारहरूलाई सुरक्षा दिएको छ। तर यी सबै प्रावधान र सुरक्षा केवल लिखितरूपमा मात्र नभएर कसरी व्यवहारिकरूपमा सफल हुन सक्दछ भन्ने कुरो पत्रकारहरूको संस्थाको सक्रीय र सबल भूमिकाले मात्र सुनिश्चित हुँदछ।पत्रकारहरूलाई तय गरिएको मापदण्ड अनुसार सबै पत्रकारहरूले आफूहरूमाझ पेशागत प्रतिस्पर्धामात्र नगरेर कतिपय कठिन परिस्थितिहरूमा सही प्रकारले निर्णय लिने क्षमता पनि हासिल गर्नुपर्नेछ। कतिपय कठिन परिस्थितिमा सबभन्दा पहिलो को हो त वा ब्रेकिङ न्यूज्को दौडमा मात्र नपरेर संगठितरूपमा पनि कार्य गर्नुपर्ने हुन्छ। सोसियल मिडिया, इलेक्ट्रोनिक र क्याबल न्यूजको होडमा यो ब्रेकिङ न्यूज वा पहिलो समाचार भन्ने क्रममा होड भए पनि तर संगठित र सुनियोजित ढंगमा खबर प्रकाश पारिएको छ भने भ्रमपूर्ण खबर वा एक पक्षीय खबरको प्रकाश भने पार्नु हुँदैन। उदाहरणको लागि विगतमा कतिपय इलेक्ट्रोनिक मिडियाले एक पक्षको वा पक्षपातपूर्ण समाचार मात्र प्रकाश गरेको आरोप लागेको थियो। यहॉं नेर के कुरा पनि उल्लेख छ भने धार्मिक कट्टरवादी तथा आतंकवादीहरूले आक्रमण गर्दा के कुनै धर्मका मानिसहरूको नाम दिनु मिडियाले जरुरी छ, जस्तै कुनै जाति धर्म विशेषको मान्छेको नाम आतंकवादी वा असामाजिक तत्वको रुपमा पेश गर्दा फेरि विभिन्न धार्मिक गुटबीच आतंक फैलिनु  सक्छ मिडियाको रिपोट अनुसार भन्ने कुरा पनि छ। यस्तोमा के आतंकवादीहरूको नाम गोप्य राख्नु त? सत्य कुरालाई मिडियाले प्रकट नगर्नु त भन्ने अहम् प्रश्न छ। फलानो धर्मको मानिसले  अर्को धर्मको मानिसको हत्या गर्योन भनेर समाचार छाप्ने विषयमा त सर्वोच्च न्यायालयले नै आपत्ती जनाइसकेको छ तथा यस्तो रिपोर्टिङमा ज्यादाभन्दा ज्यादा पत्रकारहरूले संयम धारण गर्नुपर्दछ भन्ने विषयमा फैसला पनि दिइसकेको छ भने पाठक एवं जनतामा यहॉं नेर के कुराको आवश्यकता र बुझ्ने क्षमता वा मानसिकताको विकास हुनुपर्ने आवश्यकता छ भने आतंकवाद, चोर, गुण्डा भन्ने कुराको कुनै धर्म हुँदैन, उनीहरूको धर्म नै अर्काको विनाश हो, मानव सभ्यतामा क्षति गर्नु हो।यसैले मिडियाले निष्पक्षरुपले नाम दिएर प्रकाशमा ल्याउँदा आतंकवादीलाई आतंकवादीकै रुपमा पाठक एवं जनताले पनि मानिलिनु पर्दछ तथा ती नामहरूलाई लिएर हिन्दु हुन् कि मुसलमान हुन् भनेर खुट्याउने जुन प्रवृति छ, सो सबैले त्याग गर्नु पर्नेछ। यी विषयहरूमा पनि प्रेसका संस्थाहरूले राम्ररी संगोष्ठी गरेर निर्क्यौलमा पुग्न सक्दछन्।

विशेष कुरो आपसी हित र राष्ट्रिय विषयका कुराहरूमा पत्रकारहरूको विचारहरू आपस्तमा आदान प्रदान हुनु अहिलेको परिप्रेक्ष्यमा अति नै महत्त्वपूर्ण छ।राष्ट्रको हितमा कुन विषयमा सही विचारधारा र चिन्तनलाई जनहितार्थ प्रकाश पार्नु पर्ने हो, कुन विषयलाई प्राथमिकता दिनु पर्ने हो भन्ने कुरो सबै पत्रकारहरूको लागि महत्त्वपूर्ण विषय हुन्छ। उदाहरणको निम्ति भारतको हितमा विदेशी पुञ्जीनिवेश उचित छ कि छैन, स-साना राज्यको अरू गठन संविधानकै धारा १. क अनुसार अझ उचित छ कि छैन? आञ्चलिक भावनाहरू र उग्रवादसित सरकारले कसरी लड़नु सक्दछ भन्ने विषय अति नै प्रमुख विषय छन्। यसका साथै भारतका विभिन्न प्रान्त वा राज्यहरूमा कसरी एकार्कामा आदान प्रदान र राष्ट्रीय एकीकरणको भावना अविभार्व गर्न सकिन्छ भन्ने विषय पनि प्रमुख छन्। यसैले पूर्वोत्तर राज्यका पत्रकारहरूको आफ्नै संकुचित विचार, दक्षिण र उत्तर भारतका आफ्नै विचार एवं धारणा भए भने राष्ट्रीय हितमा यसैले हामीले उचित विचार र एकमतता कायम गर्नसक्ने छैनौं जुन विकास प्रक्रियामा वाधा हुन जान्छ। विभिन्न क्षेत्रमा भइरहेको समस्यालाई कसरी राष्ट्रिय स्तरसम्म पुराई नेताहरूको आँखा खोलाई तथा सरकारलाई सजग गराई समाधानको दिशाको निम्ति सोच्न बाध्य गराउने हो र यसमा मिडिया कति सफल हुन्छ भन्ने कुरो नै सायद सबैभन्दा ठूलो दायित्व पत्रकारहरूको हुनुजान्छ। यस्ता विषयहरूमा यसैले एक्लो पत्रकार नभएर सबै पत्रकारहरूले संस्थाबाट सजग भएर कदम उठाए भने नै सफलता हासिल गर्न सक्दछ।

यसरी नै सिक्किम राज्य पनि दार्जीलिङ र उत्तरपूर्वीय राज्यकै लहरमा परेकोले यहॉंका पत्रकारहरू माझ पनि एकार्कामा समन्वय हुनु अति नै जरुरी देखिएको छ।सिक्किमका मूलभूत विषयहरूलाई राष्ट्रीय मिडियामा उचितरूपले प्रकाश हुनुसकेको छैन भने दार्जीलिङ र उत्तरपूर्वीय राज्यहरूकै यस्ता विविध समस्यालाई राम्ररी राष्ट्रिय स्तरमा प्रोजेक्सन मिलेको छैन। केवल विकास र सहानुभूतिका विज्ञापनरुपी हरफहरू राष्ट्रीय माध्यममा निधारमा अछेता टॉंसेजस्तो भएर हुँदैन। पत्रकारहरू आफैले आत्मसात् गरेको, जनजीवनले भोगेको यथार्थहरू राष्ट्रीय माध्यममा बोलिएको हुनुपर्छ। भारतजस्तो देशमा भ्रष्टाचार निर्मूल गर्नु नसकिए पनि कसरी अंकुश लगाउनु सकिन्छ भन्ने महत् विषयमा मिडियाले सही भूमिका खेलेको हुनुपर्छ।

यसैले अहिले सिक्किम राज्यमा प्रेस क्लब अफ सिक्किम एक शीर्षस्थ संस्थाको रुपमा गठन भएको छ र यसले सही भूमिकाहरू खेल्न अघि बढ़ेको छ।दुई दशक पार गर्दा गर्दै धेरै विषयमा चर्चा परिचर्चा शुरु गरेको छ, अझ गर्नुछ। यसरी नै दार्जीलिङ क्षेत्रमा प्रेस एसोसिएसन अफ दार्जीलिङ वा प्याड पनि यस्तै शीर्षस्थ संस्थाको भूमिका खेलेर प्रेस क्लब अफ सिक्किमसित तादात्मयता मिलाएर विगतमा काम गर्नु गरेको थियो, अझ अरू संस्थाहरू मिलेर यो काम गर्नु बाँकी नै छ। सिक्किम र दार्जीलिङको सम्पर्क अति नै नजिक छ तथा राष्ट्रिय मार्ग नै दार्जीलिङ भएर सिक्किमले तय गर्नु पर्दछ। राज्य अलग भएर पनि भाषिक, सांस्कृतिक, साहित्यिक र पत्रकारिताको दृष्टिले सिक्किम र दार्जीलिङका कतिपय मुद्धाहरू राष्ट्रीय स्तरमा प्रोजेक्ट गर्दा प्राय: एकै प्रकारका हुन्छन्। टिस्टा र रंगीतले मात्र अलग गराएको भूमीमा दार्जीलिङका होनहार पत्रकारहरूले पनि सिक्किमको जल्दोबल्दो समस्यालाई राष्ट्रिय स्तरसम्म पुराउने कार्य गर्न सक्दछन् भने सिक्किमबाट पनि यो काम हुनुसक्दछ।

सर्वान्तमा सामुहिक रूपले तथा संस्थाकै रुपमा एक भएर सिक्किम, दार्जीलिङ तथा उत्तरपूर्वका पत्रकारहरूले आफ्नो क्षेत्रको विकास साथै राष्ट्रीय विकासमा पत्रकारिताको माध्यमबाट धेरै कार्य गर्न सक्षम हुनेछ भन्ने कुरामा द्वैमत हुनु सक्दैन। यी कुराहरूको कारणले गर्दा नेपाली भाषी सबै पत्रकार चाहे उनले नेपालीमा लेखुन्, हिन्दी अंग्रजीमा लेखुन् यसै भूमि र भारतमा छरिएर बसेका विभिन्न प्रान्तबाट नेपाली समुदाय र राष्ट्रको हितमा योगदान दिने कार्य गर्ने पत्रकारहरूलाई एउटा शीर्षस्थ मन्चमा ल्याउनु पनि हिजो हाम्रा अग्रजहरूले देखाएका शीर्षस्थ संस्था भारतीय नेपाली पत्रकार संघलाई सक्रीय बनाउनु आजको एकदमै आवश्यक भएको छ।जताभावि अपरिमार्जित सोसियल मिडियाको अतिक्रमण, मोबाइल, इन्टरनेटको दुष्प्रयोगलाई रोकथाम गर्नु र एउटा सुवर्ण भविष्य सन्ततिहरूको लागि तय गरिदिनुको लागि आफ्नो स-साना बहना र स्वार्थहरूलाई पर सारेर सबै नेपाली भाषी पत्रकारहरू एक जुट हुने समय आएको छ।   

About Author

Advertisement