खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध दोकानहरू भत्काउने कार्य गरेपछि बजारमा रहेको नालीहरू मरमत्ति कार्य शुरु गरेको छ। खरसाङ बजार क्षेत्रमा रहेको नालीहरू मरमत्तिको लागि आज खरसाङ नगरपालिका र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको पदाधिकारीहरू उपस्थित भएर मरमत्ति कार्यको लागि पूजा अर्चना गरेर कार्यको थालनी गरिएको छ। खरसाङ नगरपालिकाद्वारा खरसाङमा अवैध दोकानहरू भत्काउने कार्य गरिएपछि जीटीए प्रमुख एवं भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले भत्काउने कार्य मात्र होइन तर खरसाङ बजारलाई सुन्दरीकरण र सजाउने कार्य पनि गर्नु पर्ने सुझाव दिएपछि आजदेखि पूजा अर्चना गरेर नानीहरू व्यवस्थित र मरमत्ति गर्ने कार्यको शुरुवात गरिएको छ। उक्त कार्यको लागि जीटीए प्रमुख अनित थापाको सुझाव साथै खरसाङ बजार क्षेत्रमा उच्छेद गरिएका दोकानहरूलाई झट्टै स्थापित गर्नु पर्ने भागोप्रमो खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको तर्फबाट पनि मांग गरिएपछि बजारमा रहेका नालीहरू मरमत्तिको कार्य थालिएको बताइएको छ। खरसाङ बजारमा रहेका नालीहरू व्यवस्थित गर्न र मरमत्ति कार्यको थालनी विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगरपालिकाले बजारमा अवैध दोकानहरू भत्काउने कार्य गरेपछि जीटीए प्रमुख अनित थापाको सुझाव र निर्देशनमा खरसाङ बजारलाई सुन्दरीकरण र सजाउने कार्य गर्नलाई आजदेखि पूजा अर्चना गरेर नालीहरू मरमत्तिको लागि कार्य शुरु गरिएको बताएका छन्।

उनले खरसाङ नगरपालिकाले भत्काएको विभिन्न स्थानहरूमा सातवटा कामहरू नगरपालिकाद्वारा आजदेखि थालिएको जानकारी गराउँदै यस कार्यको लागि जीटीए प्रमुख अनित थापाले कोलकोतासम्म फोन गरिदिएको बताएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले यो मरमत्तिको कार्य गर्दा जनसाधारण साथै दोकानहरूलाई पर्न जाने असुविधाको लागि खेद प्रकट गर्दै खरसाङ बजारको सुन्दरीकरण र नालीहरू मरमत्ति कार्यमा सबैको साथ र सहयोगको आशा गरिएको बताएका छन्।