झापा: नेपालमा मनसुन सक्रिय भएसँगै साढे १३ लाख हेक्टरमा धान रोपाइँ भएको छ। यो कुल रोपाइँ हुने क्षेत्रफलको ९३.३ प्रतिशत हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १४ लाख १ हजार २ सय ७३.७३ हेक्टरमा रोपाइँ हुन्छ। जुलाईसम्म १३ लाख ४९ हजार ६ सय ७.४ हेक्टरमा धान रोपाइँ भएको छ।
२०२३ जुलाई २९ सम्म ८१.८ प्रतिशत मात्रै रोपाइँ भएको थियो। ‘गत वर्षको तुलनमा रोपाइँको अवस्था राम्रो छ। रोपाइँ बढ्नुको कारण सहज रूपमा पानीको उपलब्धता हो,’ मन्त्रालयका प्रबक्ता हरिबहादुर केसीले भने , ‘यसपालि वर्षा राम्रो भयो। रोपाइँ पनि राम्रो भएको छ।’ अबको एक सातामा शतप्रतिशत रोपाइँ हुन्छ। शतप्रतिशत रोपाइँ हुँदा धान उत्पादन पनि बढ्ने मन्त्रालयको प्रक्षेपण छ। मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०२३/२०२४ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो। अहिले उत्पादन थप बढ्न सक्ने मन्त्रालयको बुझाइ छ।
मन्त्रालयका विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भइसकेको छ। २०२३ जुन २८ सम्म ९९.२ प्रतिशत रोपाइँ भएको थियो। सुदूरपश्चिममा १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुन्छ। त्यसपश्चात कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ भएको छ। कर्णालीमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुन्छ। गत वर्ष जुलाई १ सम्म कर्णालीमा ९५३ प्रतिशत रोपाइँ भएको थियो।
अन्य प्रदेशमा पनि ९५ प्रतिशत बढी रोपाइँ भइसकेको छ। धान उत्पादनको राजधानी मानिने मधेश प्रदेशमा ९५.४ प्रतिशत रोपाइँ भएको छ। सबैभन्दा बढी धान रोपाइँ मधेशमा हुन्छ। त्यहा ३ लाख ८६ हजार १ सय ५ हेक्टरमा रोपाइँ हुन्छ। जुलाईसम्म ३ लाख ६८ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ भइसकेको छ।
गत वर्ष जुलाईसम्म भने ६०.४ प्रतिशत मात्रै रोपाइँ भएको थियो। मधेशपछि धेरै रोपाइँ लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६ सय ४३ हेक्टरमा हुन्छ। त्यहाँ ९५.७ प्रतिशत अर्थात ३ लाख १ हजार ४ सय ९८ हेक्टरमा रोपाइँ भइसकेको छ। गत वर्ष जुलाईसम्म भने ८६.३ प्रतिशत मात्रै रोपाइँ भएको थियो।
तेस्रो धेरै रोपाइँ हुने प्रदेश कोशी हो। कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा धान रोपाइँ हुन्छ। मन्त्रालयका अनुसार 95 प्रतिशत अर्थात २ लाख ६२ हजार ६ सय ४ हेक्टरमा रोपाइँ भएको छ। गत जुलाईसम्म ९०.५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। ‘धान रोपाइँ र उत्पादन हुने मुख्य तीन प्रदेशको अवस्था विश्लेषण गर्दा रोपाइँ उत्साहजनक छ। मलखादको अवस्था पनि सहज नै छ। प्राकृतिक विपत्ति, रोगकिरा नलागे उत्पादन बढ्छ नै,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने , ‘गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान नै हो। तर कति उत्पादन बढ्छ भन्ने अहिले नै भन्न सक्दैनौँ।’
मन्त्रायका अनुसार वाग्गती प्रदेशमा १ लाख १४ हजार ५ सय ६१ हेक्टरमा रोपाइँ हुन्छ। वाग्मतीमा ९४.९ प्रतिशत अर्थात १ लाख ८ हजार ७ सय ७२ हेक्टरमा रोपाइँ भइसकेको छ। गत वर्ष जुलाईसम्म भने ८०.१ प्रतिशत मात्रै रोपाइँ भएको थियो। त्यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुन्छ। गण्डकीमा ९६.१ प्रतिशत रोपाइँ भइसकेको छ।
गत वर्ष यही अवधिमा ८८.६ प्रतिशत मात्रै रोपाइँ भएको थियो। मन्त्रालयले उत्पादन बढ्ने अनुमान गरिरहँदा धान चामल आयातको अवस्था पनि भयावह नै छ। कृषिप्रधान देश भनिएपनि अर्बो रुपैयाँको धान चामल आयात भएको छ। भन्सार विभागको अनुसार गत आर्थिक बर्ष २०२३/२०२४ मा २१ अर्ब ५ करोडको धान, 88करोडको धानको बीउ र ९ अर्ब २८ करोड रुपैयाँको चामल आयात भएको छ।