जलढाका: जलढाका स्पोर्ट्स एसोसिएशनको आयोजनमा जारी ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीले क्वार्टर फाइनलमा स्थान बनायो। झोलुंग खेल मैदानमा आइतवार खेलिएको म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीले नयाँ साइलीको टीमलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ प्रधानले ह्याट्रिक गरे। यसबाहेक समीर राई र सौरभ राईले पनि १-१ गोल गरे। यसरी नयाँ साइलीबाट कुलदीप मिञ्जले १ गोल गरे। सौरभ प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने म्याचमा वरियर्स एफसी तुलसीपाड़ा र ग्रेफ-को टीमबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू दिउँसो ३ बजीदेखि शुरु हुने आयोजक समितिको पक्षमा रतन लामाले जानकारी दिएको छ।










