गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आफ्नो सातौं जन उन्मुक्ति दिवस भव्यरूपमा मनाउने निर्णय लिएको छ। प्रत्येक वर्ष पालन गर्दै आइरहेको जन उन्मुक्ति दिवस यसपालि पाकिम जिल्लाको रम्फू मैदानमा मनाइनेछ। यस क्रममा कार्यक्रम सम्बन्धि चर्चा गर्न आज चौथो समन्वय सभा रम्फू खेलमैदानमा सम्पन्न भयो।
पार्टीका नवनियुक्त सेक्रेटरी जेनरल तथा मन्त्री अरुणकुमार उप्रेतीको विशेष उपस्थितिमा बसेको बैठकमा कार्यक्रमलाई सफल तुल्याउन पार्टी कार्यकर्ताहरूको एकता र समन्वयलाई जोड दिएको छ। यसपालिको कार्यक्रम सधैँभन्दा छुट्टै किसिमले आयोजन गरिने निधो गरिएको छ। एसकेएम पार्टीले गत चुनाउमा ३१ सिट ऐतिहासिक विजय हासिल गरेको र रहल १ सिट पनि आफ्नै झोलीमा परेको सुखद् क्षण रहेकाले यो वर्ष जन उन्मुक्ति दिवस गौरवशाली रूपमा नयाँ उत्साहका साथ पालन गरिने बताइएको छ।
समारोहका लागि पछिल्ला दिनहरूमा आयोजन गरिएको समीक्षा बैठकमा समिति छुट्याइएको थियो भने कार्यभार पनि बाँडफाँट गरिएको छ। आज बसेको सभाले समितिमा परेका सदस्यहरूले आआफ्नो जिम्मेवारीलाई निष्ठा र इमान्दारपूर्वक वहन गर्न आग्रह गरेको छ भने अन्य कार्यकर्ताहरू सबैलाई समन्वय गरिदिन अपील गरिएको छ।
सभामा हिजो मात्र पार्टीले नियुक्त गरेको सेक्रेटरी जेनरल मन्त्री अरुण उप्रेतीलाई उपस्थित कार्यकर्ताहरूले खादा अर्पण गरी स्वागत, अभिवादनका साथै बधाई दिए। पार्टीले लिएको निर्णयलाई सहर्ष स्वीकार गर्दै सेक्रेटरी जेनरल उप्रेतीको नियुक्तिमा सन्तुष्टता जनाउँदै कार्यकर्ताहरूले उनलाई बधाईका साथै आउँदो दिनका लागि सुखद् कार्यकालको कामना गरे।
सभामा मन्त्री राजु बस्नेत, समारोह समितिका अध्यक्ष डीबी गुरूङ, विधायक तथा सल्लाहकारहरू एलबी दास, सञ्जित खरेल, एसकेएम पार्टीका पूर्व प्रवक्ता जेकब खालिङ, युवा प्रकोष्ठका पूर्वाध्यक्ष लाक्पा मोक्तान, सहदेव शर्मा, पूर्व विधायकहरू, जिल्ला अध्यक्ष-पक्योङ लाडेन्ला लामा, उपाध्यक्ष गान्तोक, देवी माया प्रधान, गान्तोक नगरकी उपमेयर छिरिङ पाल्देन भोटिया आदि उपस्थित रहेको जानकारी एसकेएम पार्टीले प्रेस विज्ञप्तिमा दिएको छ।









