झापा: काठमांडूको सिनामंगलमा हिजो दिउँसो मृत भेटिएका युवक र युवती नजिकका दाजु-बहिनी भएको खुलेको छ।
बाजुराको त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र सो ठाउँकी १९ वर्षीया करिस्मा सार्की काठमांडू महानगरपालिका-९ शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिएका थिए।
गेस्ट हाउसको कोठा नम्बर २०४ मा करिस्मा घाँटी काटिएको र भरत झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। करिस्मा आफ्ना दुई भाइसँग काठमांडूमा बस्दै आएको पाइएको छ। भरत रोजगारीका लागि भारतको मुम्बईमा थिए। चार वर्षअघि मुम्बई गएका उनी गाउँ फर्किएका थिएनन्। अहिले उनी काठमांडू आएको पनि परिवारलाई जानकारी नभएको खुलेको छ।
भरत र सरिता नजिकका दाजु–बहिनी भएको र गाउँमा घर पनि तल र माथि रहेको उनीहरुको आफन्तले जानकारी दिएका छन्। उनीहरू धेरै नजिक भएको हल्ला चलेपछि आफूहरुले घरमै उनीहरूलाई सम्झाएको र त्यसपछि मुम्बई गएको भरत गाउँ नफर्किएको उनीहरुको भनाइ छ। अहिले काठमांडू आएको पनि आफूहरुलाई जानकारी नभएको उनीहरुले बताएका छन्। घटनाबारे जानकारी पाएपछि परिवारलाई खबर गरिसकेको वडाध्यक्ष गणेशबहादुर साउदले जानकारी दिए।
करिस्मा र भरत जुलाई ३० देखि नै उक्त गेस्ट हाउसमा बसेको सञ्चालकले जानकारी दिएका छन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ। घटनाको अनुसन्धान अगाडि बढाइसकेको एसपी नवराज अधिकारीले बताए।