गान्तोक: मंगन जिल्ला अस्पतालमा आज विश्व स्तनपान सप्ताहको उद्घाटन गरियो। उक्त कार्यक्रमलाई ‘क्लोजिङ द ग्यापः ब्रेस्टफिडिङ सपोर्ट फर अल’ नारा दिएको थियो। कार्यक्रममा मंगन जिल्लापाल अनन्त जैन, मंगन नगर पञ्चायतका अध्यक्ष अनि पार्षदहरु, जिल्ला अस्पतालका अधिकारीहरु, कर्मचारीहरु, आँगनबाड़ी कार्यकर्ता, आशाकर्मीहरु उपस्थित थिए। कार्यक्रममा मंगन जिल्ला चिकित्सा अधिकारी डा. डीडी काल्योनले भने, गर्भवती महिलाहरूलाई परामर्श प्रदान गर्नमा चयनित ब्रान्ड एम्बेसेडरको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुनेछ। उनले सिजेरियनको स्थितिमा हुने प्रसवमा महिलाहरुलाई प्रोत्साहन गर्ने महत्त्वमा जोड दिँदै, शिशु जन्मेको केही घण्टाभित्रै तत्काल स्तनपान गराउनु पर्ने उल्लेख गरे। कार्यक्रमले मंगन जिल्लामा स्तनपान पहलका लागि ब्रान्ड एम्बासडरको शुरु पनि गरेको थियो। जिल्ला अस्पतालमा शिशु जन्म हुँदा स्तनपान गराउने कार्यक्रमको महत्वबारे जानकारी दिँदै यस पहलमार्फत शुरुदेखि नै स्तनपानको फाइदा र प्रविधिहरूका बारेमा आमाहरूलाई प्रदान गरिएको बताए। अस्पतालका नर्सहरूले एक वर्षअवधिसम्म सेवा गर्ने, जसमा उनीहरूले स्तनपान जागरुकता गराउन पहिलोपल्ट आमा भएका महिलाहरुलाई व्यक्तिगत सहयोग र परामर्श दिने जानकारी गराए।
आफ्नो सम्बोधनमा जिल्लापाल जैनले चिकित्सा पेशामा संलग्न कर्मचारीहरुले जनताको विश्वासको महत्त्वलाई ध्यान राख्नुपर्ने र उनीहरूलाई सही मार्गनिर्देशन गर्ने सल्लाह दिए। उनले विशेष गरी सुत्केरी पछिको पहिलो छ महिनामा स्तनपानको महत्त्व बुझाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे। जिल्लापालले स्तनपान र प्राकृतिक प्रसवका फाइदाहरूबारे सचेतना विस्तार गर्न उपस्थित सहभागीहरुलाई अनुरोध गरे। पार्षद छिरिङ लेप्चाले आशा र आँगनवाडी कार्यकर्ताहरूलाई उनीहरूले गरेका समर्पणको लागि कृतज्ञता व्यक्त गरिन्। लेप्चाले सामाजिक कल्याणमा स्वास्थ्यकर्मीहरुले खेल्ने महत्त्वपूर्ण भूमिकालाई खुलेर सराहना गरिन्। उनले मंगन नगर पञ्चायतको सधैँ सहयोग रहने आश्वासन दिँदै आवश्यक सहयोगको वचन दिइन्। कार्यक्रममा बेबी शो र सुत्केरी महिलाहरुका लागि पौष्टिक खाना प्रदर्शनी र प्रतियोगिता पनि राखिएको थियो।