गान्तोक: सोरेङ च्याखुङ समष्टिको थर्पुमा प्रतिदिन बढ़िरहेको आत्महत्याको घटनाहरूलाई रोकथाम गर्ने उद्देश्य सहित “से नो टु सुसाइड” सन्देशसहित शुरु गरेको थर्पु सोरेङ क्रिकेट प्रिमियर लीगको फाइनल आगामी १८ अगस्तको दिन सम्पन्न हुने भएको छ। आज आयोजक समितिका सदस्यहरूले राजधानीमा पत्रकारहरूसित कुराकानी गर्दै उक्त जानकारी दिएका हुन्। पहिले यस प्रतियोगिताको फाइनल ११ अगस्तको दिन खेलाइने तय भएको थियो तर टार्न नसकिने केही कारणवश १८ अगस्तको दिन सारिएको आयोजक पक्षको भनाइ रहेको छ।क्रिकेट टुर्नामेन्ट आयोजक समितिका सदस्यहरूको भनाइअनुसार थर्पु अनि वरपर क्षेत्रमा आत्महत्याको घट्ना धेरै बड़ेर गएको छ। यसैले क्षेत्रवासीमा विशेष गरेर युवाहरूमा मानसिक स्वास्थ्यलाई लिएर जागरुकता फैलाउन यो टुर्नामेन्टको आयोजना गरिएको हो। यस टुर्नामेन्टले स्थानीय युवाहरूमा सकरात्मक परिवर्तन देखिएको पनि उनीहरूको दावी रहेको छ। खेलसँगै मानसिक स्वास्थ्य सम्बन्धमा कार्यशालाहरू पनि आयोजना गरिएको उनीहरूले थप जानकारी गराए।