दार्जिलिङ: दार्जिलिङको दुईवटा महत्वपूर्ण पर्यटकीय स्थलहरू रक गार्डन अनि गंगामाया पार्कलाई पर्यटनको लागि सुन्दरीकरण गरिनेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पाले आज बताएका छन्। आज उनले पर्यटन विभागका अधिकारीहरूसित दार्जिलिङको महत्वपूर्ण पर्यटकीय स्थलहरू रक गार्डन र गंगामाया पार्कको भ्रमण पनि गरेका थिए। विशेष गरेर दार्जिलिङ पहाडमा पर्यटकहरूलाई लोभ्याउन जीटीएले नयाँ नयाँ क्रियाकलापहरू पर्यटन उद्योगमा प्रयोगमा ल्याउने भएको छ। यसै क्रममा दार्जिलिङको रक गार्डन अनि गङ्गामाया पार्क महत्वपूर्ण पर्यटकीय स्थल हुनाले यी दुई स्थलको पूर्ण रूपले रूपान्तरण गर्ने जीटीएले योजना बनाईरहेको जानकारी प्राप्त भएको छ। त्यसरी नै यी दुई स्थलमा पुग्ने वैकल्पिक बाटोको निर्माण पनि गरिने पर्यटन विभागका सभासद नोर्देन शेर्पाले आज बताएका छन्। गङ्गामाया पार्कमा उनले एउटा जानकारीमूलक खुल्ला भेलामा बोल्दै भने, “योजनाहरु दीर्घकालीन रहनेछन्। सेप्टेम्बर महिनाभन्दा अघि पर्यटकीय स्थलहरूको सुन्दरीकरण हुनेछ।
दार्जीलिङ पहाडको पर्यटनलाई माया गर्नुपर्छ। पर्यटनसँग सम्बन्धित सबै स्टेक होल्डरहरू एउटा परिवार भएर एकजुट भएका छौं। टुर अपरेटर, गाडी चालकदेखि लिएर व्यवसाय गर्ने सबै एक अर्कामा जोडिएका छौं। हामी कुन राजनैतिक पार्टीबाट आएका छौँ त्यो खोजी रहने समय होइन। पर्यटन उद्योगलाई बढाउन हामीले हाम्रो राजनीति पछाड़ी राख्नुपर्छ। राजनीति गर्ने समयमा राजनीति पनि गरौंला।”

उनले पर्यटनलाई बढाउन नकरात्मक प्रचारदेखि बाँच्ने सुझाव दिँदै भने, “दार्जीलिङलाई लिएर सोसियल मीडियामा जुन नकरात्मक प्रचार हुन्छ त्यसले पर्यटन उद्योगलाई नै नोक्सान गर्छ।”