यो वर्ष पनि विदेशिने युवा साढे सात लाख नजिक पुग्यो

IMG-20240724-WA0040
भद्रपुर:गत आर्थिक वर्षको तथ्यांकसहित विगत ३ वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन्। तीन वर्षको तथ्यांकलाई औषत गर्दा वार्षिक ७ लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएका देखिन्छ। यो संख्या पुनः श्रमस्वीकृति लिएर गएका समेतको हो। विदेश जान श्रमस्वीकृति लिएका मध्ये ६४ प्रतिशत नयाँ कामदार हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको संख्या रहेको छ।

वैदेशिक रोजगार विभागले गत आर्थिक वर्षमा रोजगारी खोज्दै ७ लाख ४० हजारभन्दा बढी युवा विदेश गएको जनाएको छ। वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार युवाले विदेश जान श्रमस्वीकृति लिएकोमा गत आर्थिक वर्षमा साढे ७ लाखको हाराहारीले श्रमस्वीकृति लिएर विदेश गएका छन्।

सरकारले श्रमस्वीकृतिको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन्। वैदेशिक रोजगार विभागले १९८६ सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न शुरु गरेको थियो। आर्थिक वर्ष २०२१–२०२२ मा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो।

आर्थिक वर्ष २०२०–२०२१ मा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जान श्रमस्वीकृति लिएकोमा २०२१–२०२२ मा यो संख्या ६ लाख ३० हजार पुगेको थियो। विभागका निर्देशक लोकनाथ भुसालले वैदेशिक रोजगारीमा श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन बनाइएको र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई विदेशिनेको संख्या बढेको बताए। आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य देशमा कोभिड संक्रमणपछि श्रमिक अभाव भएका कारण गत आवमा श्रमस्वीकृति लिनेको संख्या बढेको कारोबार अनलाइनले जनाएको छ।
समाजशास्त्री एवं श्रम रोजगार विज्ञ गणेश गुरुङ दुई वर्षसम्म कोभिड प्रभावका कारण वैदेशिक रोजगारीमा जान नपाएका युवा पछिल्लो समय गइरहेका कारण श्रमस्वीकृतिको संख्या बढेको बताउछन्। कोभिडका कारण विदेश जान नपाएर र त्यसका कारण श्रम गन्तव्यमा रोजगारी गुमाएर फर्केका ८० प्रतिशत युवा पुनः रोजगारीका लागि विदेश गएका कारण पनि दुई वर्षयता श्रमस्वीकृति लिनेको संख्या बढेको हो।

लामो समय विदेशी रोजगारदाता श्रमिकविहीन रहेको र कोभिडको प्रभाव कम भएपछि बढ्दो व्यवसाय घाटा पूर्ति गर्न लगानी तथा व्यवसाय बढाएका कारण पनि ठूलो संख्यामा श्रमिक माग गरेको देखिन्छ। गुरुङका अनुसार कोभिडमा आर्थिक अभावका कारण स्वदेशमा बन्द भएका कतिपय उद्योग पुनः सञ्चालनमा आउन नसक्नु वैदेशिक रोजगारीमा जाने युवा बढ्नुको अर्को कारण हो। पछिल्लो समय भारतमा रोजगारी जाने युवासमेत रोजगारीमा लागि खाडी तथा मलेसिया जाने प्रवृत्ति बढेको बताउछन। ‘विदेश जाने युवाको संख्या बढ्नु भनेको सरकारले आन्तरिक रोजगारी सिर्जना गर्न सञ्चालन गरेका कार्यक्रम असफल हुँदैछन् भन्ने संकेत हो,’ गुरुङले भने , ‘विकास निर्माणका कामसमेत नियमित हुन नसक्नुको परिणाम श्रमयोग्य जनशक्ति पलायन भइरहेको छ।’

विभागका अनुसार राजधानी काठमांडूसहित देशभरका ७ वटा श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था अनलाइन गरिएका कारण श्रमिकलाई सेवा लिन सहज भएको छ। पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो।

श्रमस्वीकृति लिने श्रमिकको संख्या वृद्धि हुनु रेमिटेन्सका लागि भने सकारात्मक हो। चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement