दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिरमूर बोइजले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा मंगलवार भएको पहिलो प्री-क्वार्टर फाइनल म्याचमा सिरमूर बोइजले अमन सेवेनलाई ९-०-ले पिट्यो। विजेता टीमबाट एडविन राईले ह्याट्रिकसहित ४ गोल गरे। उनले म्याचको १०औं, २१औं, ३५औं र ४२औं मिनटमा गोल गरे। यसबाहेक गिडोन लेप्चा (४४औं र ५६औं मिनट) र देवान थापा (१३औं र ३२औं मिनट)-ले २-२ गोल गरे। अन्य एक गोल खेम बहादुर सिंगाली (५९औं मिनट)-को नाममा रह्यो। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि रुस्तम प्रधान फोर्थ अफिसियल रहेका थिए। अब बुधववार खेलिने दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा अल स्टार बागडोग्रा र मतिगढ़ा फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।