[गुरु पूर्णिमा विशेष] गुरु पूर्णिमा

WhatsApp-Image-2024-07-21-at-17.14.29

पूर्णिमा चन्द्र चरण हो। पृथ्वीको परिप्रेक्ष्यबाट पूरा जून आकाशमा प्रकाशित भएको देखिन्छ अर्थात् यो रात आकाशमा पूरा जून देखिन्छ। यसलाई अँध्यारो मासेर उज्यालो गराउने प्रतीक मानिन्छ। सनातन परम्परामा कैञौ देवीदेवता र धर्मात्माहरू पूर्णिमामा अवतरित बनेका मिथक र इतिहास छन्। वर्षका प्रत्येक मास एकपल्ट पूर्णिमा परेका हुँदछन्। कृष्णपक्षको अन्त्यमा औँसी (अमावास्या/New Moon) हुन्छ, शुक्लपक्षको अन्त्यमा पूर्णे (पूर्णिमा/Full Moon) हुन्छ। असार मासको पूर्णेलाई गुरु पूर्णिमा नाम दिइएको छ। सनातन धर्म परम्परामा शिवजीलाई आदिगुरु मानेर दक्षिणामूर्ति शिवले सारा ऋषिलाई शिवज्ञान दिए भन्ने कथा पाइन्छ। अर्को कथामा दक्षिणामूर्ति शिवले ब्रह्माका चार मानसपुत्रलाई चार वेदको अन्तिम ज्ञान प्रदान गरे। नेपालको गौरीशङ्कर हिमालमा गौरीलाई सान्निध्यमा राखेर दक्षिणतिर फर्केर सम्पूर्ण शास्त्रको उपदेश दिए भन्ने मानिन्छ।

आषाढ पूर्णिमाको दिन तनहुँको दमौलीमा मादी र सेती नदीको द्वीपमा कृष्ण द्वैपायन व्यास जन्मे। बदरिका आश्रममा बसेर ब्रह्मसूत्र रचेका हुनाले बादरायण भनिए। बादरायणले चार वेदको व्याख्या र १८ पुराण सम्पादन गरे भनिन्छ। प्राचीन कालमा कविलाई व्यास भनिन्थ्यो। महान् अज्ञात कवि व्यासको जन्म आषाढ पूर्णिमाको दिन भएको मानिन्छ। वेदवाणी सङ्कलन गर्ने कृष्ण द्वैपायन व्यास महाभारतका साक्षी र रचयिता बने। यसकारण जसले जगत्‌मा महाभारतरूपी ज्ञानको दीपलाई प्रज्ज्वलित गरे, यस्ता विशाल बुद्धि भएका महर्षि वेदव्यासलाई नमस्कार गरिन्छ-

     नमोऽस्तु ते व्यास विशालबुद्धे फुल्लारविन्दायतपत्रनेत्रः।

     येन त्वया भारततैलपूर्णः प्रज्ज्वालितो ज्ञानमयप्रदीपः।।

पैल, जैमिन, वैशम्पायन, सुमन्तुमुनि र रोम हर्षणलाई वेदव्यासका विद्वान् शिष्य मानिन्छन्। व्यास स्वयम् अतुलनीय गुरु भए पनि उनले ‘कृष्णं वन्दे जगत्गुरुम्’ भनेर कृष्णलाई आफूभन्दा श्रेष्ठ सिद्ध गरेका छन्। रामचन्द्र आफ्ना गुरु विश्वामित्र र वशिष्ठ सामु विनम्र र मर्यादित भएर रहन्थे। कृष्ण बलरामका गुरु महर्षि सान्दीपनि थिए। यिनीबाटै श्रीकृष्णले ६४ कलाका शिक्षा पाएका थिए। विश्वामित्र, अलारा, कलम, उद्दाका रामापुत्त आदि बुद्धका गुरु थिए। “गुरु गुँड़ रहन्छन् चेला चिनी हुन्छन्” भन्ने भनाइलाई यी महापुरुषहरूले चरितार्थ गरिदिए। यसरी गुरु-शिष्य परम्पराको निरन्तर प्रक्रम चलिआएको मानिन्छ।

यी त कति मिथकीय विश्वास हुन्। यसमा तर सनातन संस्कृतिको निगूढ आशय व्याप्त पाइन्छ। मिथक पनि भारतीय संस्कृतिका प्रबल स्तम्भ हुन्।

इतिहास हेर्नु हो भने वैशाख पूर्णिमामा जन्मेका, २९ वर्षको वयमा गृहत्याग गरेका सिद्धार्थ गौतमलाई ६ वर्षको कठोर तपस्यापछि वैशाख पूर्णिमाको दिन ३५ वर्षको वयमा निर्वाण प्राप्त भयो। निर्वाणको आनन्दमा ४९ दिन गयामा रहेपछि प्राप्त ज्ञान अरूमा प्रचार गर्ने मन बनाए। यस उद्देश्यले ११ दिन हिँड़ेर ऋषिपत्तन अर्थात् मृगदया अर्थात् अहिलेको सारनाथ आइपुगे। त्यहाँ पहिले छुटेका आफ्ना परिव्राजक पाँच मित्र भेटेर आषाढ पूर्णिमाको दिन पहिलो बुद्धोपदेश दिए। त्यही धर्मचक्रप्रवर्तन सूत्र बन्यो। यसलाई पालि भाषामा धम्मचक्कपवत्तन सूत्त भनिँदछ। यसरीति बौद्ध परम्परामा भगवान् बुद्धलाई भक्ति अर्पण गर्ने पर्वका रूपमा गुरु पूर्णिमा मनाइन्छ। गुरु पूर्णिमामा आध्यात्मिक वा अकादमीय गुरु पूजाको विधान छ। गुरु पूर्णिमा वर्षा ऋतुको थालनीतिरै मानिन्छ। यस दिनदेखि चार माससम्म परिव्राजक साधु-सन्त एउटै स्थानमा रही ज्ञान साधना गर्दछन्। यी चतुर्मास प्रकृतिको दृष्टिले पनि सर्वश्रेष्ठ ठानिन्छ। न धेरै गर्मी र न धेरै जाड़ो। यसकारण अध्ययनका लागि उपयुक्त मानिन्थ्यो। जसरी सूर्यको तापबाट तप्त भूमिलाई वर्षाद्वारा शीतलता एवं उर्वरशक्ति प्राप्त हुँदछ, उसरी नै गुरु-चरणमा उपस्थित साधकहरूको ज्ञान, शान्ति, भक्ति र योग शक्ति प्राप्त गर्ने शक्ति पाइँदछ। प्रकृतिका उद्भिद्-मा जस्तै मानव मानसको भूमिमा पनि ज्ञान अङ्कुरित हुन यो याम अनुकूल ठानिन्छ।

यसै दिन जैन धर्ममा २४औँ तीर्थङ्कर महावीरले कैवल्य प्राप्त गरेपछि गान्धार राज्यका गौतम स्वामीलाई आफ्ना प्रथम शिष्य बनाएका थिए। यसबाट यो पर्व ‘त्रिनोक गुहा’ नामले प्रसिद्ध भयो। यसको अर्थ हो प्रथम गुरु। यसकारण जैन धर्ममा यस दिनलाई त्रिनोक गुहा पूर्णिमा नामबाट पनि चिनिन्छ।

पुस्तक पढाउने र व्याख्यान दिने मात्र गुरु हुँदैनन्। खेत र यन्त्रालयका काम सिकाउने पनि गुरु गनिन्छन्। श्रमको सम्मान हामी सबैले जान्नुपर्दछ। अचेल हाम्रा कैञौ छोरीचेली क्षौरकार (नापित) बन्न नलजाउने भएर केश काट्ने, सिँगारपटार गरिदिने नङिनी काम गरिखाँदैछन्। अचेल मुना-मदनकी नङिनी नैनी भाउजुजस्तै घरघर गएर क्षौरकर्तृ बनेका छोरीचेली पनि छन्। केटीहरू पनि वाहनकार चालाक (उहिलेको सारथी) बन्नथालेका छन्। ड्राइभिङ लाइसिन्स पनि लिँदैछन्। गाड़ी चलाउन सिकाउनेलाई पनि गुरुजी भन्ने गरिन्छ। गाड़ीका चालाकलाई यात्रुले पनि सभ्य भाषामा गुरुजी सम्बोधन गर्ने चलन छ। केटाहरू पनि क्षौरकार बन्दैछन्। क्षौर अर्थात् छुरी-कैँची चलाउन जान्ने भए। भारतका ठूल्ठूला नगरका प्राय: चिकित्सालयमा गोर्खा उपचारिका (नर्स) भेटिन्छ। विभिन्न विमानमा परिचारिका हाम्रा छोरीचेलीहरू छन्। यो राम्रो सङ्केत हो। स्वच्छकार पनि बन्दैछन्। सफाईकर्मी हुन किन पो लजाउनु! फाटाकफुटुक चर्मकार काममा प्रशिक्षण लिनेहरू पनि निस्कँदैछन्। जुत्ता-चप्लीका थरीथरीका पादुकाचार (शू फेशन)-बाट लाभ उठाउन सकिन्छ। भूषाचार (गार्मेन्ट फेशन)को त कुरै छैन। बुद्धि पुऱ्याए सुचिकार काममा भएभरको लाभ छ। संस्कृत शब्द सूचि भनेको सियो हो। लुगा काट्ने सिलाउने सूचिकारका प्रशिक्षण ठाउँठावै दिइन्छ। हाम्राहरूले मृदाकार (डकर्मी), काष्ठकार (सिकर्मी), जलकार, विद्युतकार काम किन नसिक्ने? पाक विद्या (कुकरी)को पनि कार्यक्षेत्र विस्तारित छ। गोर्खालाई अल्छे, ठगी, छली हुन सुहाउँदैन। अचेल मत्थु वा औषधिका अतिलती (ड्रग एडिक्ट)हरू बढ्नुको कारण काम गर्न लजाएर पनि हो र दायित्वदेखि भागेका। सुरुबुरू जुनसुकै काम पनि गर्नसकिनेमा हाम्रा युवालाई बाटो देखाइदिन पर्दछ। गोर्खाकै समाजमा पहिले आफ्नै लौहकार, सुचिकार, चर्मकारहरू थिए। अझ धेरै छन्। कतिले भने मादक पदार्थमा अतिलती भएर पनि पैतृक व्यवसाय सह्माल्न सकेनन्। परिवारमा एकजना सरकारी काममा लागे सबैले शिल्पी काम छाड़ेका उदाहरण पनि छन्। आधुनिककाल वैदिककालझैँ उदार बन्दै गएको छ। अब शिल्पश्रमको सम्मान बढिरहेको छ। श्रमशिल्प सिकाउने-पढाउने शास्त्रहरू पनि छन्– संगीतशास्त्र, मूर्तिशास्त्र, प्रतिमाशास्त्र, शृङ्गारशास्त्र, अभियान्त्रिकीशास्त्र, क्षौरशास्त्र, मृदाकालाशास्त्र, सुचिशास्त्र, काष्ठकलाशास्त्र, पाकशास्त्र, भूषाशास्त्र आदि। यस्ता शास्त्र बनाउने, पढाउने, सिकाउने अनुभवी गुरुहरूलाई पनि गुरुपूर्णिमामा अभिनन्दन प्रकट गर्ने गरिन्छ। शिक्षक दिवसमा त वेतनभोगी शिक्षकहरूलाई मात्र सम्मान जनाउने गर्दछन्। यसकारण गुरु पूर्णिमा समावेशी पर्व हो। यसको महत्त्व विशाल र विस्तृत छ। कवि तुलसीबहादुर छेत्री ‘अपतन’-को ‘सबैको म छात्र’ कविता गुरु पूर्णिमामा सान्दर्भिक छ–

     छरी ज्योति बल्नु नलिई गर्व सेखी,

     सधैँ जोश राख्नु सिकेँ सूर्यदेखि।

     चलोस् घोर आँधी सबै होस् उजाड़,

     बनी धीर बस्नु सिकाउँछ पहाड़॥१॥

     छ घट्नु र बढ्नु बसेँ तब ढुक्क,

     सिकेँ चन्द्रबाटै म हाँस्नु मुसुक्क।

     बनी प्राणधारा सुधाझैँ बहन्छ,

     सधैँ काम गर्नु भनी वायु भन्छ॥२॥

     सदा पुष्प फुल्नु खपी घाम पानी,

     भनी वृक्ष भन्छ भएको कहानी।

     सदा कोइलीले सिकायो मलाई,

     मिठो त्यो सुबोली सदा बोल्नलाई॥३॥

     बुझेँ विश्व सारा महापाठशाला,

     यहीँ छन् हजारौँ गुणी ग्रन्थमाला।

     यसैबाट चुन्छु सदा शुद्धमात्र,

     सबैदेखि सिक्छु सबैको म छात्र॥४॥

महाकवि देवकोटाले उद्यान अर्थात् प्रकृतिबाट गुरुज्ञानका निगूढ आशय खुलिने विचार व्यक्त गरेका छन्–

     फुल्दो गुलाबबीच ज्ञान अनेक फुल्छन्,

     उद्यानमा बस गई सब तत्त्व खुल्छन्।

भारतमा गुरुकुल प्रथा आरम्भ भएदेखि नै गुरुपूर्णिमा मनाउनथाले पनि आधुनिक शिक्षाले यसको महत्त्वमा ह्रास आएको देखेर महात्मा गान्धीले आफ्ना आध्यात्मिक गुरु श्रीमद् राजचन्द्रलाई सम्मान दिने निहुँमा यस उत्सवलाई पुनर्जीवित गरेका थिए। स्वतन्त्रतापछि भने शिक्षण वृत्ति त्यागेर राजनीतिमा लागी राष्ट्रपति बनेका डा. सर्वपल्ली राधाकृष्णनको जन्मदिनलाई शिक्षक दिवस मनाउने भए। आफ्नै शोधार्थी यदुनाथ सिन्हाबाट भावहरणको आरोप झेलेका राधाकृष्णनको नाममा शिक्षक दिवस मनाउनु पनि विडम्बना नै हो। भारतीय परम्परामा गुरुलाई पूर्णताका प्रतीक मानेर पूर्णिमाकै दिन पुज्ने गुरु पूर्णिमा प्रथा शिक्षक दिवसले भङ्गप्राय गरिदियो। ५ सितम्बर औँसीमा पनि पर्नसक्दछ। गुरु मानेर स्याल्याक्कै भएजस्तो गरी स्वार्थपूर्ति भएपछि गुरुलाई नै लड़ाउने खेल अचेलको राजनीतिमा देखिन्छ। गुरु मानिबसेमा आफ्नै दलको पसल बन्द हुनसक्छ। एकपल्ट सिकेपछि गुरु नचाहिने आधुनिक प्राविधिक शिक्षाका लागि गुरु पूर्णिमाभन्दा शिक्षक दिवस नै अनुकूल हुन्छ। शुल्कको भरमा पढाउने शिक्षण संस्थानका लागि पनि शिक्षक दिवसै ठीक हो। जीवनका तात्त्विक तथा शाश्वत शिक्षादातालाई शिक्षक दिवसले पुग्दैन, गुरु पूर्णिमामै पुज्नु उचित हुँदछ।

सनातन संस्कृति परम्पराका गुरुकुलमा केके पढाइ हुन्थे? आर्यावर्तका गुरुकुलपछि ऋषिकुलमा केके पढ़ाइ हुन्थे भन्ने जान्न आवश्यक छ- अग्निविद्या (Metallurgy), वायुविद्या (Flight), जलविद्या (Navigation), अन्तरिक्षविद्या (Space Science), पृथ्वीविद्या (Environment), सूर्यविद्या (Solar Study), चन्द्र वा लोकविद्या (Lunar Study), मेघविद्या (Weather Forecast), पदार्थ विद्युतविद्या (Battery), सौर ऊर्जाविद्या (Solar Energy), दिनरात्रिविद्या, सृष्टिविद्या (Space Research), खगोलविद्या (Astronomy), भूगोलविद्या (Geography), कालविद्या (Time), भूगर्भविद्या (Geology Mining), रत्न व धातुविद्या (Gems & Metals), आकर्षणविद्या (Gravity), प्रकाशविद्या (Solar Energy), तारविद्या (Communication), विमानविद्या (Aviation), जलयानविद्या (Voyage), अस्त्रविद्या (Arms & Ammunition), जीवजन्ुi विज्ञानविद्या (Zoology Botany), यज्ञविद्या (Material Sc) आदि।

यी त भए वैज्ञानिक विद्या। अब व्यावसायिक अनि प्राविधिक विद्या केके थिए, जानौँ – वाणिज्य (Commerce), कृषि (Agriculture), पशुपालन (Animal Husbandry), पक्षिपलन (Bird Keeping), पशु प्रशिक्षण (Animal Training), यान यन्त्रशिक्षा (Mechanics), रथशिक्षा (Vehicle Designing), रत्नशिक्षा (Gems), सुवर्णशिक्षा (Jewellery Designing), वस्त्रशिक्षा (Textile), कुम्भशिक्षा (Pottery), लोहशिक्षा (Metallurgy), तक्षक (Carving), रङ्गसज्जा (Dying), वास्तुकार (Architect), पाकविद्या (Food craft), सारथ्य (Driving), नदी प्रबन्धन (Water Management), सूचीलेख (Data Entry), गोशाला तथा पशु प्रबन्धन (Animal Husbandry), उद्यान पालन (Horticulture), वन पालन (Horticulture), आदि।

यी सबै विद्या गुरुकुलमा सिकाइन्थे तर समयसितै गुरुकुल लुप्त हुँदैगए अनि यी विद्या पनि लुप्त हुँदैगए। १८५८ मा Indian Education Act बनाइयो। यसको खेस्रा लर्ड मेकालेले बनाएका थिए। यसभन्दा पहिले उलने भारतको शिक्षा व्यवस्थाको सर्वेक्षण गराए।  उनीभन्दा पहले पनि केही अङ्ग्रेजले भारतको शिक्षा व्यवस्थाबारे रिपोर्ट दिएका थिए। अङ्ग्रेजका एक अधिकारी थिए जी.डब्ल्यू. लुथर अनि अर्का थिए थोमस मुनरो। लुथरले उत्तर भारतको सर्वे गरे, उनले लेखे- यहाँ ९७% साक्षरता छ अनि मुनरोले दक्षिण भारतको सर्वे गरेर लेखे यहाँ त १००% साक्षरता छ। मैकालेको विचारमा भारतलाई सधैँ दास बनाउनु हो भने स्थानीय र सांस्कृतिक शिक्षा व्यवस्थालाई पूरै ध्वस्त गर्नुपर्दछ अनि यसको ठाउँमा अङ्ग्रेजी शिक्षा व्यवस्था ल्याउनु पर्दछ। यसो गरे भारतीय शरीरले भारतीय तर बुद्धिले अङ्ग्रेज बनिनेछन्।

१८५० सम्म भारतमा ७ लाख ३२ हजार गुरुकुल थिए अनि त्यस बेला यस देशमा गाउँहरू थिए ७ लाख ५९ हजार। अर्थात् प्रत्येक गाउँमा सालाखाला एउटा गुरुकुल र त्यहाँ १८ विषय पढाइन्थे।  कतिमा राजाश्रय पनि थिए। गुरुकुलमा शिक्षा निःशुल्क दिइन्थे। अङ्ग्रेजले गुरुकुल प्रथा नासेर अङ्ग्रेजी शिक्षालाई वैधानिक घोषित गरे अनि कलकत्तामा पहलो कन्भेन्ट स्कूल खोले। कलकत्ता यूनिवर्सिटी, बम्बई यूनिवर्सिटी, मद्रास यूनिवर्सिटी खोलेर विदेशी विद्या दिए। मैकालेले आफ्ना पितालाई एउटा पत्रमा उही कुरा लेखे – भारतीय शरीरले हिन्दुस्तानी तर बुद्धिले अङ्ग्रेज बनिनेछन्। गुरुको अर्थ गु (अँध्यारो) र रु (हटाइदिने) हो। मनुस्मृतिले वेदज्ञातालाई मात्र गुरु नमानेर जीवनमा सम्यक् मार्गदर्शन गराउने गुरु हो भनेको छ। गुरु विद्वान् वा मनीषी नै हुनुपर्दछ भन्ने करकाप छैन। गुरु सबै अखण्ड बुद्धिले विभूषित भएकै मात्र उदाहरण छैन। कति गुरुसित ठूल्ठूला अकादमीय उपाधि हुन्छन्, ज्ञानी पनि हुन्छन् तर श्रद्धा र प्रियताका पात्र हुँदैनन्। ज्ञानभण्डारले युक्त गुरु पनि विद्यार्थीका प्रियपात्र हुनसकेका हुँदैनन्। आफ्नो छत्र (छाता)-मुनि छात्र छानिछानी चुनेर राख्ने प्रवृत्तिका गुरु पनि हुन्छन्। उदार भएर सबैलाई समान रूपले प्रेम गर्नसकेका भए ती गुरु सर्वमान्य हुनसक्ने थिए तर लघुचेत पालेर आफूलाई असुरक्षित ठानेर चानचुने छात्रलाई मात्र चेप्ने हुँदा ती गुरु तिनै समूहका लागि मात्र श्रद्धेय हुँदछन्। उदार हँसिला-रसिला गुरु अमर रहेका उदाहरण धेरै छन्। उदास-निरास शिक्षक व्यक्ति पढेकै भए पनि विद्यार्थीहरूका श्रद्धापात्र हुँदैनन्। सन्त रविदास, सन्त कबीरदास, रामकृष्ण परमहंस, श्रीसत्य साई ठूला उपाधिधारी गुरु थिएनन्, भव्य शास्त्रज्ञान पनि थिएन तर उनीहरूसित जीवनबोध थियो। यसकारण उनीहरूका वचन नै शास्त्रसम्मत हुनगए।

घामको निदेशनमा विश्व कर्मण्य रहन्छ। यसकारण घामलाई कर्मशिक्षक (तास्क मास्टर) मानिन्छ। गति पनि कर्म नै हो। गतिकर्म विचार दिने सबै गुरु मानिन्छन्। गायत्री मन्त्रले भन्दछ- प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप गुरुलाई म आफ्नो अन्तरात्मामा धारण गर्नसकूँ। शिष्यले गुरुमा परमात्माको रूप पाउनु सनातन संस्कृतिको विशेषता हो। गुरु परम्परा खोज्दैजाँदा पूर्वीय दर्शन परमतत्त्वमा पुग्दछ। गीता महात्म्यमा भनिएको छ –

                यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै-

    वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः।

    ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो

    यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः॥

अर्थात्, ब्रह्मा, वरुण, इन्द्र, रुद्र अनि मरुद्रणले जसका दिव्य स्तोत्रद्वारा स्तवन गर्दछन्, सामगान गर्नेहरू अङ्ग, पद, क्रम र उपनिषद्हरूसहित वेदहरूबाट जसको गीत गाउँदछन्, ध्यानमग्न एवं तल्लीन चित्तले योगीजन जसलाई साक्षात्कार गर्दछन् अनि जसलाई पार गर्न सुर-असुर कसैले पनि सक्दैनन्, उनै परम्पतत्त्वलाई नमस्कार गर्दछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement