वाराणसी (उत्तर प्रदेश): भारतीय अमेरिकी समूहद्वारा सञ्चालित हिन्दूपेडियाको सहकार्यमा काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागद्वारा उत्तर साम्राज्यवाद र भारतीय अमेरिकीमा यसको प्रभावविषयक भाषण र सम्भाषण कार्यक्रम आयोजन भयो। अंग्रेजी विभागका प्राध्यापक डा. उमेश कुमारको अध्यक्षतामा भएको यस सम्भाषण कार्यक्रममा “कोलोनियल डिस्कोर्स एन्ड द सफरिङ अब् इण्डियन अमेरिकन चिल्ड्रन” नामक पुस्तकमा लेखक कृष्ण महेश्वरी प्रमुख अतिथि वक्ताका रूपमा उपस्थित रहेका थिए। स्नातकोत्तर स्तरका विद्यार्थीगणबाट कुलगीतको गायनपछि कार्यक्रम विधिपूर्वक आरम्भ भयो। भारतीय भाषा विभागका प्रो. दिवाकर प्रधान स्वागत भाषण गरीकन अतिथिहरूलाई सम्मान प्रकट गरे। त्यसपछि कृष्ण महेश्वरीद्वारा उक्त विषयमाथि चर्चा आरम्भ भयो। कलासङ्कायको डा. एनी बेसन्ट सभागारमा भएको यस कार्यक्रममा अमेरिकी पाठ्यपुस्तकमा समेत भारतीयबारे पढाइने पाठमा भारतको झोपडी र बालश्रमिकको सचित्रपाठ संलग्न गरेको घटना विवरण पावरपोइन्टबाट दिँदै विषयको उठान गरे। यस क्रममा साम्राज्यवाद र उत्तर साम्राज्यवादको प्रभावस्वरूप अमेरिकामा भारतीयहरूलाई गरिने दयनीय र सङ्कटपूर्ण व्यवहारमाथि प्रकाश पारे। आफ्नो भाषणमा उनले साम्राज्यकालीन भारतका विषयमा विभिन्न लेखकहरूले लेखेका पुस्तकहरू सन्दर्भका लागि प्रस्तुत गर्दै विषयलाई स्पष्टता दिए। महेश्वरीको वक्तव्यपछि अन्तर्क्रिया परामर्श आरम्भ भयो। भाषण पछाडि भएको सम्भाषण कार्यक्रममा उपस्थित सभासद्गणले थुप्रे जिज्ञासा प्रकट गरे। प्रो. बेङ्कटसरलुले भारतीय संस्कार-संस्कृतिको प्रचार गर्न भारतीयले किन सकेका छैनन् भन्ने प्रश्न गर्दा वक्ताले सङ्ख्यात्मक लघुतालाई हेतु बताए। पश्चिमी मानसिकतामा बसेको भ्रान्त धारणालाई निराकरण गर्ने उपायबारे प्रो. गौणमणिले जिज्ञासा राख्दा वक्ताले आफ्नो सानो समुहले थालेको हिन्दूपेडिया जस्ता सूचनापरक माध्यमहरू धेरै हुनुपर्ने आवश्यकता रहेको कुरामा प्रकाश पारे। शोधार्थी इन्द्रमान सुब्बाले भारत विविधतावादी राष्ट्र हो र यहाँ विभिन्न धर्म-दर्शन छ भन्दै अन्य धर्म-दर्शनसम्बन्धी तपाईँको विचारधारा र हिन्दू शब्द आफैमा विवादास्पद रहेका हुनाले कुनै वैकल्पित शब्द उपयोगी हुनसक्ला भनी प्रश्न राखे। वक्ताले विदेशी धार्मिक सम्प्रदायहरूका इनसाइक्लोपेडिया अर्थात् विश्वकोश थरिथरिका रहेका तर हिन्दू धर्मका केही विश्वकोश ग्रन्थ रूपमा भए तापनि सञ्चार क्षेत्रमा हिन्दूपेडिया मात्र एउटा हो, हिन्दू धर्मलाई सनातन वा हिन्दूस्तानी वा भारतीय जे भने पनि थुप्रै सञ्चारका पेडियाहरू निकाल्न सके अझ राम्रो हो भन्ने उत्तर दिए। प्रो. दिवाकर प्रधानले हिन्दू धर्मलाई सनातन संस्कृतिको प्रजातान्त्रिक अङ्ग मान्दै यो पन्त वा सम्प्रदाय नभएर जीवनशैली भएको अनि यसका सामाजिक दौर्बल्यहरू आफैले हटाउन सके यसको सांस्कृतिक वैभव अक्षुण्ण रहने सुभाव राख्दा वक्ताले स्वीकारोक्ति व्यक्त गरे। अध्यक्षको आसनबाट बोल्दै डा. उमेश कुरमाले भारतीयले आफूमा भएको दास मानसिकतालाई निरस्त गर्नुपर्ने विचार व्यक्त गरे। काशीबाट गएको एउटा शोधार्थीले गाजीपुरमा जति नै राम्रो भाषण दिए पनि महत्त्व नहुने तर त्यही भाषण बेलायतमा दिएमा भारतीयले नै महिमा गाउने र वक्ता प्रतिष्ठित हुने चलन छ। यो दास मानसिकताको प्रतिफल हो भन्दै बेलायत जाँदा आफू पनि भुक्तभोगी बन्नुपरेको अनुभव साझा गरे। भारतमा तपाईँ नानीहरूलाई बालश्रमिक बनाएर झोपडपट्टिमा कसरी बाँच्नुहुँदैछ भनी इङ्गल्याण्डकी महिलाले गरेको प्रश्नले आफू आहत भएको जनाए। जनसञ्चारले र लेखक, कलाकार र खेलाडीहरूले आआफ्ना क्षेत्रबाट देशको छवि सोभनीय पारिदिनुपर्ने विचार व्यक्त गरे। उनले आजको भाषण र सम्भाषण विचारोद्दीपक रहेको जनाए। अन्त्यमा कार्यक्रमका उद्घोषकत्व सम्हाल्नुहुने भारतीय भाषा विभागका अध्यापक डा. जगदीशन. टी-ले विदेशमा बसेर पुर्खाको देशप्रति सहानुभूतिशील अतिथिसहित विभिन्न विभागका शिक्षक, उपस्थित काशीवासी विशिष्ठ नागरिक, शोधार्थी र विद्यार्थीगणलाई सम्भाषणमा संलग्न भइदिएका लागि धन्यवाद ज्ञापन गरे अनि अध्यक्षको अनुमति लिएर कार्यक्रम सम्पन्न भएको घोषणा गरे।