चीन जोड्ने तातोपानी मार्ग बन्द, बाढीले हाइड्रोपावर र पुल बगायो

IMG-20240716-WA0215
झापा: रविबार रातिको अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको विभिन्न नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ। भारी वर्षाका कारण आएको बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको केही संरचना बगाएको छ भने पावर हाउसमा पानी पसेको र ड्याममा क्षति समेत भएको प्रहरीले जनाएको छ। ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको ड्याम बालुवाले भरिएको कारण विद्युत् उत्पादन बन्द भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अधिकांश भाग अन्धकारमय भएको छ।

आयोजनामा काम गर्ने सबै कर्मचारी सुरक्षित रहेको तर क्षतिको विवरण भने आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ। त्यस्तै बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ चिन्डेमा रहेको झोलुङ्गे पुल बगाएको छ। सो गाउँपालिकाको खाल्डेखोलामा बाढी र पहिरोले सडक अवरुद्ध बनाएको छ। सो क्षेत्रमा जाने कुनै पनि बैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनहरूसमेत चल्न नपाउँदा बिरामीहरू समेत मारमा परेका छन्। लार्के खोलामा आएको बाढीले मेलम्ची भोताङ सडक ठाउँठाउँमा बगाएको छ। तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ। चिनियाँ पुल, माझीरुम्टी, तिपेनी, खसेबलुवा र खाल्डेखोलाजस्ता बस्ती बजार पूर्ण जोखिममा रहेको छ भने अस्पताल पनि जोखिममा रहेको बताइएको छ। बाढीले सडक, गोरेटो, खेत, तटबन्ध र घाटहरूसमेत बगाएको छ।

यसैगरी तिपेनी मेलम्ची सडकखण्डको बाटोमा पनि बाढीले क्षति पुर्‍याएको छ। गाउँपालिका अध्यक्ष टासी ह्योल्मो लामाले पालिका जोड्ने सडक पूर्णरूपमा बन्द भएको बताए। अध्यक्ष लामाले पाँचपोखरीमा फेरि ठूलो विपत्ति आइलागेको बताउँदै खेतीयोग्य जमिन धेरै बगाएको जानकारी दिए। ‘रविबार साँझदेखि यहाँ बत्ती पनि छैन। नदी किनाराका कटेजहरू बाढीले बगाएको छ। कति बगायो भन्ने विवरण निकाल्नै मुस्किल परिरहेको छ’, उनले भने – ‘गाउँपालिका अहिले सडक, बाटो, यातायात र बिजुली बत्तीबाट पूर्ण रूपमा विच्छेद भएको छ।’ स्थानीय जनताका अनुसार बाढीले इन्द्रावती नदीमा लगाएको अन्दाजी एक सय मिटर ग्याबिन जाली बगाई तिपेनी मेलम्चीको सडक अवरोध गरेको छ। चीनसँग जोड्ने बाह्रबिसे–तातोपानी सडकमा पर्ने खाग्दल बजारमा रहेको बेलिब्रिज बाढीले बगाएको छ। खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाउँदा तातोपानी–बाह्रबिसेको सडक सम्पर्क बिच्छेद भएको छ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी इन्स्पेक्टर देवेन्द्रराज जोशीका अनुसार १६ जुलाई सोमबार रातको २ बजे खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएसँगै आसपासका आधा दर्जन घरटहरामा क्षति पुर्‍याएको छ। अविरल वर्षात् कारण उर्लिएको खाग्दल खोला रातको दुई नबज्दै बेलिब्रिज माथिबाट बग्न थालेपछि स्थानीयको भागाभाग भएको थियो।

पुल बगाएर वारपर नदी पसेपछि जोखिमबाट स्थानीयलाई जोगाउन रातिनै नजिकैको सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ। खाग्दलसहित कोदारी राजमार्गको खण्डपिच्छै विभिन्न स्थानमा बाढीपहिरो गएपछि सडक भएको छ। खागदल खोला नजिक रहेको तीन घर जोखिममा रहेको प्रहरीले बताएको छ। त्यहाँ रहेका नौ जना मानिसहरूलाई नेपाली सेना र नेपाल प्रहरीले सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारपश्चात ९ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement