दोस्रो इजा पुरस्कार कवि कर्ण विरहलाई प्रदान गरिने घोषणा

IMG-20240716-WA0222

दार्जीलिङ: दोस्रो इजा पुरस्कार कवि कर्ण विरहलाई प्रदान गरिने घोषणा भएको छ। प्रतिष्ठित साहित्यिक संस्था ‘ इजा प्रकाशन ‘- ले वर्षेनी प्रदान गर्दै आएको ” इजा स्मृति युवा साहित्यिक सम्मान पुरस्कार – २०२४” को आज विधिवत् घोषणा भयो। संस्थापक मञ्जुला सुब्बा तामाङ, अध्यक्षा अमला सुब्बा छेत्री र सचिव सुनील राईले आज दार्जीलिङमा प्रेस भेला डाकेर निर्णायक मण्डलीको घोषणा सार्वजनिक गरेका हुन्। धेरैवटा कृतिमध्ये उत्कृष्टताको आधारमा सबैलाई जितेर यसपल्ट आफ्नो कविता सङ्ग्रह ” गान्धारीको आँखा”- का लागि सर्जक कर्ण विरह यस पुरस्कार का लागि चयन भएका छन्।दिवङ्गत इजा हाङमा सुब्बाको ११ औँ स्मृति दिवसको अवसरमा एउटा विशेष कार्यक्रमको आयोजना गर्दै कवि कर्ण विरहलाई यो पुरस्कार आगामी ११ अगस्त २०२४ का दिन इजा प्रकाशनले नेपाली साहित्य सम्मेलन भवन दार्जीलिङमा प्रदान गर्ने निश्चित भएको छ। यसका साथै नेपाली साहित्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेका वरिष्ठ साहित्यकार अनुवादक तथा अवकाशप्राप्त शिक्षक प्रेम प्रधानलाई पनि त्यसै दिन इजा प्रकाशनले सम्बर्द्धना गर्नेछ। साथसाथै वार्षिक रूपमा प्रदान गरिने “इजा प्रकाशन सम्मान” ले यसपल्ट वरिष्ठ साहित्यकार तथा शिक्षाविद डा राजकुमार छेत्री र सामयिक पत्रिकाहरुमा पचास वर्षदेखि स्थम्भ लेखकको रुपमा सेवा पुराउँदै आएकी मोनिका प्रधान गुरुङलाई सम्मानित गरिने जानकारी पनि आजको प्रेस भेलामा सार्वजनिक भयाे।दार्जीलिङकी प्रतिष्ठित नारी हस्ताक्षर मञ्जुला सुब्बा तामाङको चौथो मौलिक कृतिको पनि त्यसै कार्यक्रममा सार्वजनिक गरिने तय भएको छ। यही प्रेस भेलाबाट तीनैजना प्रतिनिधिले उक्त समारोहमा उपस्थित भइदिन सबैलाई आमन्त्रण पनि गरेका छन्।

About Author

Advertisement