विकलांगहरूको खिल्ली उड़ाउँदा हरभजनसहित अन्य क्रिकेटरहरूविरुद्ध पुलिसमा नालिश दर्ता

IMG-20240716-WA0141

नयाँ दिल्ली: विकलांग मानिसहरूका खिल्ली उड़ाएको आरोपमा पूर्व क्रिकेटरहरू हरभजन सिंह, युवराज सिंह, सुरेश रैना र गुरकीरत मानविरुद्ध पुलिसमा नालिश गरिएको छ। नालिश नेशनल सेण्टर फर प्रमोशन अवन् एम्प्लयमेण्ट फर फिसेबल्ड पीपल (एनसीपीईडीपी)-का कार्यकारी निदेशक अरमान अलीले दिल्लीको अमर कलोनी पुलिस स्टेशनको एसएचओ-मा दर्ता गरिएको छ। क्रिकेटरहरूका साथमा मेटा इण्डियाका उपाध्यक्ष तथा प्रबन्ध निदेशक सन्ध्या देवनाथनविरुद्ध पनि नालिश दर्ता गरिएको छ। उल्लेखनीय छ, वर्ल्ड च्याम्पियनशीप अव् लीजेण्ड्सको फाइनलमा इण्डिया च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्सलाई ५ विकेटले पराजित गरेपछि पूर्व क्रिकेटरहरूले इन्स्टाग्राममा एउटा भीडियो शेयर गरेका थिए। भीडियोमा युवराज, हरभजन र रैनालाई आफ्नो ढाड़ पक्रिएर लंगड़ाउँदै हिँड़ेको देखिएको छ। वास्तवमा यी खेलाड़ीहरूले लामो समयपछि क्रिकेट खेल्दा शरीरमा पर्ने असरलाई ठट्टा गरेर देखाउने प्रयास गरेका थिए। भीडियोको क्याप्शनमा लेखिएको थियो, १५ दिनसम्म लीजेण्ड्स क्रिकेटमा शरीरको स्थिति बिग्रियो। शरीरको हरेक हिस्सा दुखिरहेको छ।
भीडियो हल्का मिजासमा बनाइएको भए पनि विकलांगता कार्यकर्ताहरूलाई त्यो भीडियो मन परेन। उनीहरूले यसलाई सम्पूर्ण रूपले अपमानजनक बताएका छन्। अरमान अलीले भनेका छन्, यस भीडियोले विकलांग व्यक्तिहरूका अधिकार अधिनियम, २०१६-को धारा ९२-को उल्लंघन गरेको छ। यसले निपुण मल्होत्रा बनाम सोनी पिक्चर्स फिल्म्स इण्डिया प्राइवेट लिमिटेड (२००४ एससीसी अनलाइन एससी १६३९)-को मामिलामा स्थापित सुप्रीम कोर्टको दिशानिर्देशहरूलाई उल्लंघन गर्छ। यसबीच हरभजन सिंहले मामिलाको गम्भीरतालाई बुझेर तत्काल माफी मागेका छन्। उनले सोशल मीडियामा लेखेका छन्, म एउटा कुरा स्पष्ट गर्न चाहन्छु। हाम्रा मानिसहरूले ईंग्ल्याण्डमा च्याम्पियनशीप जितेपछि सोशल मीडियामा जारी हाम्रो भीडियोलाई लिएर नालिश गरिरहेका छन्। हामी कसैले भावनालाई ठेस पुऱ्याउन चाहदैन थियौं। हामी हरेक व्यक्ति र हरेक समुदायलाई सम्मान गर्छौं अनि भीडियो केवल १५ दिनसम्म क्रिकेट खेलेपछि हाम्रो शरीरको स्थिति प्रतिबिम्बित गर्न बनाइएको थियो। हामीले कसैको अपमान गर्न चाहेका थिएनौ तर पनि तपाईंहरूलाई हामीले केही गलत गरेको जस्तो लाग्यो भने म आफ्नो तर्फबाट माफी माग्न चाहन्छु। यसलाई यहीँ रोकेर अघि बढ़्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement